नेकपाको एकतालाई ओलीले पद प्राप्त गर्ने माध्यम मात्र बनाए: नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको एकतालाई पद प्राप्त गर्ने माध्यम मात्र बनाएको आरोप लगाएका छन् ।
आज पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले देशलाई अग्रगमनमा लैजान, समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको बताउँदै त्यसलाई ओलीले पद प्राप्त गर्ने माध्यम मात्र बनाएको बताएका छन् ।
प्रधानमन्त्री ओलीको तानाशाही र निरंकुश प्रवृत्ति लामो समयसम्म नचल्ने बताउँदै ओली प्रवृत्तिलाई आफूहरुले परास्त गरेरै छाड्ने बताएका छन् ।
‘के पार्टी एकता एक जना व्यक्तिलाई प्रधानमन्त्री बनाई राख्नका लागि मात्रै हो, प्रधानमन्त्री ओली र उनको समूहले यसको जवाफ दिनुपर्छ’, उनले भने ।
प्रवक्ता श्रेष्ठले पार्टीको स्थायी समिति बैठक चलिरहेका बेला प्रधानमन्त्री ओलीले बैठकबाट भागेर असंवैधानिक काम गर्न पुगेको बताएका छन् ।
उनले पार्टीमा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने कुनै छलफल नहुँदै ओलीले पदबाट हटाउँछन् कि भन्ने डरका प्रतिनिधि सभा विघटन गर्न पुगेको बताएका छन् ।
पार्टी विभाजन भएसँगै प्रधानमन्त्री ओली समूहले देशभर प्रधानमन्त्री आोलीले निर्वाचन आयोग र सर्वोच्च अदालतमा सेटिङ मिलाएको र प्रतिनिधि सभा पुनर्स्थापना पनि नहुने, सूर्य चिन्ह र आधिकारि पार्टी आफ्नो हुने हल्ला चलाइरहेको समेत प्रवक्ता श्रेष्ठले बताए ।
‘ओली समूहले केपी बाले निर्वाचन आयोग र अदालतसँग सेटिङ मिलाउनु भएको छ, त्यसकारण प्रतिनिधि सभा पनि पुनस्र्थापना हुँदैन, सूर्य चिन्ह र आधिकारिक पार्टी हाम्रो हुन्छ भन्ने हल्ला फैलाइरहेका छन् ।’