खेलकुद क्षेत्रमा रहेका चुनौतीलाई सहकार्यमार्फत् पन्छाउँछुः मन्त्री तामाङ

काठमाडौं, २८ पुस । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावाङ तामाङले खेलकुदमा रहेका चुनौतीलाई सहकार्य गर्दै पन्छ्याउने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा मंगलबार आयोजित मन्त्री तामाङको स्वागत तथा बधाइ कार्यक्रममा उनले खेलकुदमा रहेका चुनौतीलाई सरोकारवालाहरुसंग सहकार्य गर्दै पन्छ्याउने बताएका हुन् ।
उनले खेल क्षेत्रको विकास र बिस्तारका लागि सरकार प्रतिवद्ध रहेको जानकारी पनि दिए । त्यस्तै उनले खेल क्षेत्रमा विद्यमान समस्याका बारेमा पनि छिटै सरोकारवालासँग छलफल गर्ने जिकिर गरे ।
राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले ऐन अनुसार कर्मचारी समायोजन गर्नु र लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा गर्नु पर्ने आवश्यकता औल्याउँदै चालू आर्थिक वर्षमा खेलकुदका लागि विनियोजित बजेट थोरै भएकाले त्यसमा वृद्धिका लागि पहल गरिदिन आग्रह गरे ।
सदस्य–सचिव सिलवालले कोभिड– १९ का कारण नवौं राष्ट्रिय खेलकुद सार्नु परेको बताउँदै विस्तारै नेपाली खेलकुदले गति लिन थालेको बताए । कार्यक्रमपछि मन्त्री तामाङले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण पनि गरेका थिए ।