भारतीय पत्रकारले भने– सगरमाथामा भारतले पनि दाबी गर्नुपर्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन भनेर काठमाडौं आएका भारतीय टेलिभिजन च्यानल जी न्यूजका सम्पादक (विवादित पत्रकार) सुधीर चौधरीले सगरमाथामा भारतले पनि दाबी गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिने भनेर काठमाडौं आएका चौधरीले सगरमाथाको आधार शिविर (बेसक्याम्प) कालापथ्थरमै पुगेर सगरमाथा (एभरेस्ट)मा भारतले पनि दाबी गर्नुपर्ने बताएका हुन् ।
चौधरी नेपालमा पत्रिका तथा टेलिभिजन सञ्चालन गर्दै आएको एक मिडिया उद्योगका सञ्चालकको समूहको सहजकर्तामा नेपाल आएका थिए । चौधरीलाई नेपाल ल्याउने समूहले यसअघि भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामान्त कुमार गोयल र प्रधानमन्त्री ओलीको भेटवार्ता गराएको थियो ।
नेपाल आउँदा गोयलसहित चौधरीको समेत नेपाल बसाइको सम्पूर्ण व्यवस्थापन गरेको सो समूहले चौधरीलाई सगरमाथा आधार शिविर कालापत्थर पुर्याएको थियो ।
कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर पत्रकार चौधरीले भनेका छन्, ‘माउन्ट एभरेस्टमा भारतको पनि दाबी हुनुपर्छ ।’
जी न्यूजमा प्रशारण हुने कार्यक्रम ‘डेली न्यूज एन्ड एनालाइसिस’ (डीएनए)का लागि तयार पारिएको रिपोर्टमा चौधरीले भनेका छन्,
आज म यहाँ उभिएर भन्न चाहन्छु कि भारतसँग माउन्ट एभरेस्टको के साइनो छ ? वर्ष १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए । सर्भे अफ इन्डियाले उनलाई यो जिम्मेवारी दिएको थियो । उनलाई आदेश थियो– तपाईं जानुहोस् र माउन्ट एभरेस्टको उचाइ नापेर आउनुहोस् ।
राधानाथ सिकदर बंगालका प्रख्यात गणितज्ञ थिए । उनले माउन्ट एभरेस्टको उचाइ नापे । माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति थिए । भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए । एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए । उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए ।
हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपथ्र्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने ।
म आज राधानाथ सिकदरलाई याद गर्दछु । तपाईंहरू सबैको तर्फबाट, पूरै भारतवासीको तर्फबाट । उनले नै यो शिखरलाई पहिलोपटक मापन गरेका हुन् । यति ठूलो काम उनले गरे । त्यसैले माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ ।’
सुधीर चौधरीले कालापत्थरमा अचानक भावुक भएर यो कुरा बोलेका होइनन्, उनले यसका लागि दिल्लीबाटै नोट बोकेर आएका थिए । ठीक एक महिनाअघि २ डिसेम्बरमा स्टुडियोबाट यही दाबीसहित विस्तृत रिपोर्ट बजाएका थिए । उनी त्यही अभियानअन्तर्गत नेपाल आएको बुझिन्छ । उनले कालापत्थरबाट ‘पिस टु क्यामेरा’ मात्र दिएनन्, स्टुडियोमा फर्किएर यो रिपोर्टको अन्त्यमा फेरि पनि सगरमाथामा भारतीय दाबी दोहोर्याए ।
‘तपाईंले माउन्ट एभरेस्टको स्मरणीय यात्रा देख्नुभयो । म त जीवनभर यो यात्रा भुल्न सक्दिनँ । हामीलाई विश्वास छ कि हाम्रो यो यात्राले तपाईंलाई माउन्ट एभरेस्टको सही अर्थ र महत्व बुझाउनेछ ।
तपाईं पनि माउन्ट एभरेस्टलाई माउन्ट सिकदर भन्ने हाम्रो अभियानमा सहभागी हुनुस् । यो अभियान आजबाट हामी सुरु गर्दै छौँ । हामी यो माग उठाइरहेका छौँ माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ । अब भारतले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’