संविधानको पूर्णपालन र संरक्षण अनिवार्य : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताएका छन् ।

उनले भनेका छन्, “संविधानको संरक्षण र पूर्णपालनका लागि सबै पक्ष जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ । आफ्नो सात दशक लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गरेको संविधानको रक्षाका लागि जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्दछ ।”

‘मगर, थारु र छन्त्याललगायतका आदिवासी जनजाति समुदायको सांस्कृतिक चाड एवं नेपालीको महत्वपूर्ण चाड माघेसङ्क्रान्ति, माघे सकराती, माघी पर्व–२०७७ को अवसरमा मगर, थारु र छन्त्याल समुदायलाई शुभकामना दिँदै उपराष्ट्रपतिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण रहेको स्मरण गरेका छन् ।

नेपालका हरेक समुदायका आआफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज र धार्मिक एवं सांस्कृतिक चाड छन् । हाम्रो देश सामाजिक सद्भाव र सौहार्दताका लागि विश्वकै नमूना राष्ट्र रहेको उपराष्ट्रपतिको भनाइ छ ।
विभिन्न समुदायमा मौलिकताका साथ मनाइने चाड नेपालीका साझा चाडपर्व भएकामा जोड दिँदै उपराष्ट्रपतिले आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको विकास गर्ने विश्वास व्यक्त गरेका छन् ।

यस्ता पर्वले पारिवारिक मिलन तथा भावनात्मक एकता गराउँदै आएको यो पर्व यस वर्ष विश्वव्यापी कोभिड–१९ का कारण विगत वर्षजस्तो सामूहिक जमघट गरेर हर्षोल्लासका साथ मनाउन नपाउने भएकाले स्वास्थ्य सुरक्षालाई ख्याल गरेर सबै नेपालीले आआफ्नो घरमा हर्षका साथ मनाउनुहुने विश्वास उपराष्ट्रपतिको छ ।

सातदशक लामो सङ्घर्षपछि प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालाई संस्थागत गरेको संविधानको संरक्षण र पालन हुनुपर्नेमा त्यसो हुन नसकेको भनी प्रश्न उठ्दै र आवाज बढ्दै गएको स्पष्ट पार्दै उपराष्ट्रपतिले नयाँ संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै यसरी प्रश्न उठ्नुपर्ने अवस्था सिर्जना हुनु ज्यादै दुःखद् कुरा भएको बताएका छन् ।

उनले माघी पर्व २०७७ ले संविधानको संरक्षण, पूर्णपालन, राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि जिम्मेवार हुन सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामना गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button