नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं वैठक दिल्लीमा शुरु

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठक शुरु भएको छ । शुक्रबार बिहान भारतको राजधानी नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोगको बैठक शुरु भएको हो ।
बैठकका लागि दुवै पक्ष (नेपाल–भारत)ले ३० वटाभन्दा बढी एजेण्डा तय गरेका छन् ।
परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका एजेण्डा तय गर्न परराष्ट्र मन्त्रालयको एउटा टोली दुई दिन अगाडि नै नयाँ दिल्ली पुगेको थियो ।
परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा नेपाली पक्षले सीमा व्यवस्थापन तथा सुरक्षा, व्यापार, ऊर्जा, केनेक्टिभिटिलगायत विषयमा छलफल हुने जनाएको छ ।
आयोगको बैठक अगाडि नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको थियो ।
ज्ञवाली र जयशंकरबीचको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, कोभिड–१९ को महामारी नियन्त्रणका सन्दर्भमा हुने सहकार्य लगायत विषयमा छलफल भएका जनाइएको छ ।
नेपाल–भारतका विदेशमन्त्रीबीचको भेटवार्तामा नेपालबाट परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य तथा भारतका तर्फबाट भारतीय विदेश सचिव हर्षवर्धन श्रङ्गलालगायत व्यक्ति सहभागी रहेका थिए ।
ज्ञवाली र जयशंकरबीचको भेटलगत्तै हेदरावाद हाउसमै नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं वैठक शुरु भएको हो ।