जनताको हातहातमा सरकारी सेवा पुर्याउने उद्देश्यका साथ ‘नागरिक एप’ सार्वजनिक

काठमाडौं । सरकारले सम्भव भएसम्मका सबै सार्वजनिक सेवा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यका साथ ‘नागरिक एप’ सार्वजनिक गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त एप सार्वजनिक गरेका हुन् ।
पछिल्लो समय विभिन्न सरकारी सेवा क्रमशः अनलाईनमार्फत उपलब्ध गराउन थालिएको छ ।
तर सेवा लिने माध्यम फरक फरक हुँदा सेवाग्राहीलाई झन्झट हुनेगरेको भन्दै सरकारले सबै सेवालाई समेट्ने गरी नागरिक एप ल्याएको हो ।
यसले जनताको हातहातमा सरकारी सेवा पुर्याउने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि प्रसाद बस्यालले बताएका छन् ।
सचिव बस्यालका अनुसार वेटा भर्सनमा सार्वजनिक गरिएकाे एपमा हाल ९ वटा सेवा समेटिएकाे छ । २०७५/७६ को सरकारी नीति तथा कार्यक्रमले परिकल्पना गरेको नागरिक एप डिजिटल नेपालको लागि एउटा महत्वपूर्ण आधारको रपमा लिइएको छ ।
त्यसका लागि गृह मन्त्रालयसँग रहेको दुई करोड १५ लाख नागरिकताको विवरण र निर्वाचन आयोगको सर्भरमा रहेको एक करोड ५५ लाख नागरिकको औंठा छाप र फोटोसहितको जानकारीमार्फत नागरिकको डिजिटल परिचय बनाइएको छ ।
यससँगै एपले सरकारी सेवा लिन नागरिकले नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता विवरण बुझाउनुपर्ने लगायतका झन्झट अन्त्य गरिदिनेछ । एपमा नागरिकता नम्बर राखेकै भरमा स्थायी लेखा नम्बर(प्यान) प्राप्त गर्न सकिने भएको छ ।
यसका साथै हाल एपमार्फत आफ्नो शैक्षिक विवरण, नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिकता, राहदानी, मतदाता परिचयपत्र लगाएको सेवा लिन सक्नुहुनेछ । भने, सरकारलाई गुनासो दर्ता गराउन समेत सकिने छ ।