प्रचण्ड-माधव पक्षको माघ ९ गते राजधानीमा जनप्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सो को विरोधमा प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले आन्दोलन गर्दै आएको छ। यसैक्रममा ९ गते काठमाडौंमा जनप्रदर्शन गरिन लागेको नेकपाले जनाएको छ।
शनिबार बसेको केन्द्रीय संघर्ष, उपत्यका संघर्ष समिति, बाग्मती प्रदेश कमिटी, सम्पर्क विशेष कमिटी तथा जनवर्गीय र पेशागत संगठनको संयुक्त विस्तारित बैठकले सो निर्णय गरको हो।
बैठकले प्रधानमन्त्रीद्वारा चालिएको प्रतिगामी, प्रतिक्रान्तिकारी तथा असंवैधानिक कदमका विरुद्ध अग्रगमन, लोकतन्त्र तथा संविधान र जनअधिकारको रक्षाका लागि यही माघ ९ गते राजधानी काठमाडौंमा बृहद तथा सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।
बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनमा व्यापक सहभागितासहित जनअधिकार रक्षाका लागि ऐक्यवद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न संघरसंगठनलाई अपिल समेत गरेको छ।
बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनको तयारीका लागि माघ ४, ५ र ६ गते प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा र शाखा कमिटी, सम्पर्क तथा जनवर्गीय संगठनका तहगत कमिटीका बैठक आयोजना गरी तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गरेको छ। त्यसैगरी माघ ६, ७ र ८ गते पर्चा वितरण, कोणसभा, माइकिङ, साँस्कृतिक प्रचार सभा सहितका सिर्जनात्मक प्रचार कार्यक्रम गर्न पार्टी कमिटी तथा जनसंगठनहरुलाई निर्देशन गरेको छ।
बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनको प्रचारका लागि माघ ७ गते अपरान्ह २ बजे काठमाडौं भृकुटीमण्डपमा जम्मा भएर उपत्यकाव्यापी मोटरसाइकल र्याली आयोजना गर्ने निर्णय गरेको छ।
