राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार बिहान राष्ट्रपति भवन शितल निवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटमा के कुराकानी भयो भन्नेबारे भने केही खुलेको छैन ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते संघीय संसदको प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।
राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि अहिले राष्ट्रिय राजनीति ध्रुविकृत भएको छ । संसद विघटन भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको छ ।
यस्तै, संविधानले परिकल्पना नै नगरेको अवस्थामा संसद विघटन गरेको भन्दै विघटनको घोषणा खारेजीको मागसहित सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका १३ वटा रिटको सुनुवाई जारी छ ।