पूर्वप्रमुख आयुक्त बस्न्यातको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

काठमाडौं, ६ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मागेको छ ।
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध परेको रिटमा अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको हो । न्यायाधीश हरि फुयाँलको इजलासले कैफियत प्रतिवेदन मागेको आदेशको अदालतको वेवसाइटमा उल्लेख छ ।
उनलाई २८ मंसिरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको थियो । हाल उनी डिल्लीबजार कारागारमा रहेका छन् ।
बस्न्यात अख्तियारको आयुक्त हुनुअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव थिए । त्यही बेला उनले ललिता निवाससम्बन्धी फाइलको टिप्पणी उठाउने, सही गर्ने काम गरेका थिए ।
उनीविरुद्ध अख्तियारले ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी २०७६ माघ २२ गते मुद्दा दायर गरेको थियो । ललिता निवास प्रकरणमा अख्तियारले बस्नेतसहित १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो, जसमध्ये १ सय १० जनालाई भ्रष्टाचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो ।