ललितपुर महानगरद्वारा अक्सिजन प्लान्ट स्थापनाका लागि पाटन अस्पताललाई १ करोड सहयोग

ललितपुर / ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड प्रदान गरेको छ ।

ललितपुर महानगरपालिकाद्धारा मंगलबार आयोजित कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालका निर्देशक रवि शाक्यलाई चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणअघि नगरप्रमुख महर्जन र शाक्यले सम्झौता पत्रमा हस्ताक्षर रहेका थिए ।

कार्यक्रममा ललितपुरका प्रमुख महर्जनले कोभिडका बेला पाटन अस्पतालले उत्कृष्ट काम गरेको बताउँदै त्यसको सम्मान गर्न सहयोग गरेको बताए ।

पाटन अस्पताल ललितपुर महानगरपालिका भित्र हुनु गौरव कुरा भएको बताउँदै उनले भने, ‘नेपाल सरकारले अन्य स्थानीय तहलाई अस्पताल बनाउन आर्थिक सहयोग गर्दा ललितपुर महानगरपालिकालाई सहयोग गरेन, सहयोग नगर्नुको कारण राम्रो सेवा पु-याईरहेको अस्पताल पाटन अस्पताल ललितपुर महानगरमा छ भनेर नै हो ।’

नगरप्रमुख महर्जनले पाटन अस्पताल महानगरको आफ्नै अस्पताल भएको बताउँदै घनिभूत रुपमा सहकार्य गर्न आत्तुर भएको धारणा राखे ।

उनले भने, ‘यो सहकार्यको प्रस्थान विन्दु हो, यो श्रीगणेशायनम: हो ।’ पाटन अस्पताल ललितपुरवासीको मात्रै अस्पताल नभएको बताउँदै ७७ वटै जिल्लाका सर्वसाधारण यहाँ उपचार गर्न आउने प्रमुख महर्जनले बताए ।

महानगरका उपप्रमुख गीता सत्यालले पाटन अस्पताल महानगरपालिकाको गहना अस्पताल भएको बताउँदै मुलुकका उच्चदेखि निम्न वर्गलेसर्वसुलभ ढंगबाट उपचार गर्न सक्ने बताइन् । उनले अस्पताललाई महानगरले गरेको यो सहयोग साधारण भएको बताउँदै सहयोग गरेर एउटा इँटा थपेको स्पष्ट पारिन् ।

कार्यक्रममा अस्पतालका निर्देशक डा. रवि शाक्यले पाटन अस्पतालले मुख्यगरी कोभिड बेला गरेको कामलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको बताउँदै यसले हौसला मिलेको बताए । उनले यसलाई महानगरपालिकाले गरेको सहयोग नभिन उपहार भन्न अनुरोध गरे ।

उनले भने, ‘ उपहार भनेको सानो ठूलो हुँदैन, त्यहाँ मूल्यको कुरा हुँदैन, त्यसको अलगै अर्थ हुन्छ राम्रो काम गरेर स्यावासी पाएको रुपमा लिएको छु । ’यो स्वास्थ्य क्षेत्र र स्थानीय तहबीच गर्न सकिने सहकार्यको राम्रो उदाहरण भएको डा. निर्देशकले बताए । यसको अनुकरण अन्यत्र पनि हुनुपर्ने धारणा व्यक्त गरे ।

पाटन अस्पताल सिमिति स्रोत साधानमा चलेको अस्पताल भएको बताउँदै कोभिडका संक्रमित धेरै आएका बेला दश बर्ष पुरानो अक्सिजन प्लान्ट बिग्रेकाले अक्सिजन सिलिण्डर खरिद गर्नुपरेको स्मरण गरे । उनले भने , ‘दिनमा तीनसय वटा अक्सिजन सिलिण्डर खपत हुने गरेको बताउँदै मासिक तीस लाखसम्मको अक्सिजन सिलिण्डर खरिद गरेका थियौं, अहिले पनि खरिद गररे नै चलाइरहेका छौं । ’ निर्देशक रवि शाक्यले भने ।

शाक्यले असार मसान्तसम्म अक्सिजन प्लान्ट स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सामाजिक विकास सिमितका संयोजक तथा वडा नं २४का वडा अध्यक्ष दिनेश कार्कीले पाटन अस्पतालले कोभिड संक्रमितको बिरामीको उपचारमा प्रसंसनीय काम गरेको बताए । उनले पाटन अस्पतालमा ७७ जिल्लाका सर्वसाधारण उपचार गर्न आउने भएकाले पाटनलाई ललितपुर महानगरले सहयोग गरेको स्पष्ट पारे ।

अस्पतालका मेडिकल डाइरेक्टर इम्रान अन्सारी, प्रशासकीय अधिकृत तीर्थराज भूजेल, लिलाराज आचार्यको त्यहाँ उपस्थिति थियो । साथै कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विण्णुप्रसाद कोइराला , २९वटै वडाका वडा अध्यक्षहरु, महाशाखाप्रमुख, सल्लाहकारहरु सहभागी थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button