प्रतिनिधि सभा विघटन नै संघियता, धर्मनिरपेक्षता र गणतन्त्रमाथिको ठुलो प्रहार हो : वरिष्ठ पत्रकार बराल

ललितपुर, ६ माघ । वरिष्ठ पत्रकार भवानी बरालले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर नेपालको संविधान २०७२ को आधारभुत कुराहरु यसका प्रस्तावनाहरु संघियता, धर्मनिरपेक्षता, लोकतन्त्र र गणतन्त्रमाथि नै ठुलो प्रहार भएको बताएका छन् ।
मंगलबार साझा नेपाली मिडिया हबले ललितपुरमा आयोजना गरेको संसद विघटनपछि उत्पन्न राजनीतिक संकट र हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ पत्रकार बरालले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर संविधान माथि नै ‘कु’ गरेको बताए ।
‘प्रधानमन्त्रीको यो असंवैधानिक कदम व्यवस्थापिका माथिको पहिलो प्रहार हो, अब उहाँले न्यायलयलाई पनि प्रहार गर्दैहुनुहुन्छ, जब न्ययालयलाई दबाद दिनु भनेको आम प्रेस जगतमाथि प्रहार गर्नु हो’ बरालले भने ।
संसद पुर्नस्थापना भएन भने प्रेस स्वतन्त्रता, विचार अभिव्यक्तिको स्वतन्त्रता, मौलिक हक नागरिक अधिकार माथि हनन् हुने खतरा भएकोले यस कार्यले २०६३ भन्दा अघिको स्थितिमा पुर्याउने र देशलाई नै राजनीतिक बन्धक बनाउने निरंकुशतातिर धकेल्ने प्रक्रियाको सुरुवात भएको उनको भनाई छ ।
कार्यक्रम आयोजक समितिका अध्यक्ष डिल्लीराम पौडेलले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा चुनौती थपिनुका साथै प्रेस स्वतन्त्रता संकुचनमा पर्ने खतरा बढेको हुँदा यस्ता खाले विषयहरुमा बहस तथा छलफल आवश्यक भएको बताउनुभयो ।
पत्रकार तथा सामाजिक अभियन्ता कुवेर गरुङले न्यायलयले हालै मात्र मिडियाको किटानै गरेर जारी गरेको विज्ञप्तिले सञ्चार जगतलाई सरकारले नियन्त्रण गर्न लागेको भन्दै सञ्चार सम्वद्ध सबै एकजुट भई अघि बढ्नुपर्ने सुुझाव दिनुभयोे ।
कार्यक्रममा सुनसरी पत्रकार महासंघका पूर्व अध्यक्ष, वरिष्ठ पत्रकारहरु लगायत विभिन्न मिडियामा आवद्ध सञ्चारकर्मीहरूले आ–आफ्नो धारणा राख्नु भएको थियो ।