काठमाडौं महानगरद्वारा तीन विधेयक पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाको आठौं अधिवेशनले तीन वटा विधेयक पारित गरेको छ ।

पारित भएका विधेयकमा ‘काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक-२०७७’, ‘काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक-२०७७’ र ‘काठमाडौँ महानगरपालिका संस्था दर्ता तथा नियमनसम्बन्धी विधेयक-२०७७’ रहेको छ ।

बुधबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले ती विधेयक पारित गर्दै विभिन्न कार्यक्रममा बजेट संशोधनसमेत गरेको छ ।

सातौं नगर सभाबाट स्वीकृत कार्यक्रममध्ये शीर्षक मिलाउनुपर्ने, स्रोत सुनिश्चित गर्नुपर्ने, कार्यान्वयनमा आउन नसक्ने कार्यक्रमलाई कार्यान्वयन गर्न सकिने योजनामा परिवर्तन गर्नुपर्ने कार्यक्रमलाई वार्षिक बजेट सीमामा फरक नपर्ने गरी बजेट संशोधन गरिएको हो ।

बैठकबाट लेखा समितिको प्रतिवेदन पनि पारित भएको छ । समितिले प्रतिवेदनमा वित्तीय सुशासन, नियमितता, मितव्ययिता, कार्यदक्षता, पारदर्शिता, प्रभावकारिताका विषय समावेश गरेको छ ।

अधिवेशनमा नगरसभा सदस्यहरूले थालिएका तर रकम अभावका कारण यही आवमा कार्य सम्पन्न हुन कठिन योजनाका लागि थप रकमको व्यवस्था गर्न, योजना अनुगमन गर्न, राजस्वको दायरा बढाउन, धुँवा धुलोमुक्त शहर बनाउने प्राथमिक योजनाका समस्या पहिचान गरेर नियमित गर्न सुझाव दिएका छन् ।

बैठकमा प्रमुख शाक्यले कमलपोखरी पुनर्निर्माणका सन्दर्भमा एक इञ्च पनि जमिन नमिचिएको भन्दै यसको बारेमा छिट्टै पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी दिने बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button