आज यी १० ठाउँबाट निस्कनेछ प्रचण्ड माधब समूहको जुलुस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा आज राजधानीमा शक्ति प्रदर्शन र जनसभा आयोजना गरेको छ ।
राजधानीका विभिन्न १० स्थानबाट जुलुस निकाल्ने नेकपाले जनाएको छ । जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ ।
केन्द्रीय सङ्घर्ष समितिले सभालाई पनि व्यवस्थित बनाउन आग्रह गरेको छ । काठमाडौंको भृकुटी मण्डपमा शुक्रबार हुने विरोधसभामा काठमाडौँ उपत्यका र आसपासका जिल्लाका जनसमुदायको सहभागिता हुने नेकपाले जनाएको छ ।
विरोधसभा शुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट निकालिने जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल, भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गर्ने बताइएको छ ।
सभालाई नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने जनाइएको छ ।
नेकपाले आज अपरान्ह १२ बजेबाट ति जुलुस र विरोध सभाका कार्यक्रम सुरु हुने जनाएको छ ।
जुलुसहरु स्थायी समिति सदस्य तथा केन्द्रीय नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट सुरु हुनेछन् ।
त्यो एकीकृत जुलुस फेरि भद्रकाली, शहिदगेट, सुन्धारा हुँदै भृकुटी मण्डप पुग्ने र सभामा परिणत हुनेछ । सभालाई अध्यक्षद्वयले सम्बोधन गर्नेछन् । कार्यक्रममा १ लाख उतार्ने दाबी उक्त समूहको छ ।