पूर्वमाओवादी लडाकुलाई लोकतन्त्रको योद्धाका रुपमा सम्मान गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले पूर्व माओवादी लडाकुलाई लोकतन्त्रको योद्धाका रुपमा सम्मान गर्ने निर्णय गरेको छ।
उनीहरुलाई छुट्टै परिचयपत्र बाँड्ने तयारी सरकारले गरेको हो।
मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागीहरुलाई सम्मानका लागि आवश्यक प्रतिवेदन बनाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो।
सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्गगरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने सहिद परिवार, घाइते , बेपत्ता, अंगभंग भएका, लोकतन्त्रका योद्दाहरूको सम्मान एवं परिचय पत्रको व्यवस्था गर्न कार्यदल गठन गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्य थापाले जानकारी दिए।
परराष्ट्रमन्त्री ज्ञवाली संयोजक रहेको उक्त कार्यदलमा खानेपानी तथा सरसफाइमन्त्री मणि थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे सदस्य छन्।
उक्त कार्यदलले लोकतन्त्रको योद्धाका रुपमा सम्मान र परिचयपत्र वितरण गर्न, अभिलेख संकलन र मापदण्डसहित प्रतिवेदन तयार पारेर आवश्यक सिफारिस गर्नेछ।
सो कार्यदलको सिफारिसको आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ।
यसअघि हिजो साँझ बालुवाटारमा प्रधानमन्त्री ओलीसँगको छलफलमा पूर्व माओवादी लडाकुहरुले छुट्टै परिचयपत्र बनाउने लगायतका माग राखेका थिए।
सोही माग सम्बोधनका लागि प्रधानमन्त्री ओलीले आजको क्याबिनेट बैठकबाट कार्यदल बनाएका हुन।