प्रचण्ड–माधव समूहद्वारा थप अन्दोलनका कार्यक्रम सार्वजनिक (सूचीसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आइतबार बसेको प्रचण्ड–माधव नेकपाको स्थायी कमिटी बैठकले संसद विघटनविरुद्ध संघर्षका कार्यक्रम जारी राख्ने निर्णय गरेपछि सोमबार थप संघर्षका कार्यक्रम सार्वजनिक गरिएको हो ।

नेकपाको प्रचण्ड–माधव समूहका प्रवक्ता एवम् केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले सोमबार विज्ञप्ती जारी गर्दै माघ १३ गतेदेखि २८ गतेसम्मका आन्दोलन तथा संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

जारी आन्दोलनका कार्यक्रमअन्तर्गत माघ १३ गते काठमाडौंमा सिठ्ठी जुलुस निकाल्ने, माघ १४ गतेदेखि २१ गतेसम्म संविधान सभाका सदस्य, संघीय सांसद तथा प्रदेश सांसदहरुले माइतीघर मण्डलामा धर्ना दिने, माघ १६ गते काठमाडौंमा शहीद श्रद्धाञ्जली कार्यक्रम गर्ने पनि श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै, माघ १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा विरोध प्रदर्शन र सभा गरिने श्रेष्ठले जारी गरिएको विज्ञप्तीमा उल्लेख छ । माघ २२ गते कठमाडौंमा युवा ¥याली, २६ गते देशव्यापी मसाल जुलुर र माघ २८ गते काठमाडौंमा विरोध प्रदर्शन र सभा आयोजना गरिने पनि प्रचण्ड–माधव समूहका प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

यसबीचमा प्रदेशका राजधानीहरुमा विशिष्ट प्रकारका ठोस कार्यक्रमलाई निरन्तरता दिइने र समाजका विभिन्न तह र तप्कासँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरिने पनि श्रेष्ठले जानकारी दिएका छन् ।

केही दिन अगाडि (माघ ९) गते मात्रै काठमाडौंमा ‘विशाल’ जनप्रदर्शन गरेको प्रचण्ड–माधव नेतृत्वको नेकपाले पुनः २८ गते काठमाडौंमा जनप्रदर्शन गर्न लागेको हो । २८ गतेको कार्यक्रममा माघ ९ गतेको विरोध सभामाभन्दा बढी सर्वसाधारण उपस्थित हुने उक्त समूहका नेताहरुको दाबी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button