पत्रकारका लागि सरकारले राहत कार्यक्रम घोषणा गर्नुपर्छ: सभापति देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सञ्चारकर्मी र सञ्चार क्षेत्रलाई बचाउन सरकारले विशेष राहत प्याकेजसंग सम्बन्धित कार्यक्रम घोषणा गर्नुपर्ने बताएका छन् ।

कोरोना कहरका कारण सञ्चार क्षेत्र र त्यसमा कार्यरत पत्रकारहरू निकै संकटमा परेको भन्दै उनीहरूको विषयमा सरकार संवेदनशील हुन आग्रह गरे । “साना–ठूला सबै मिडिया हाउस समस्यामा परेका छन् । विज्ञापनको बजार संकटमा छ । पत्रकारका लागि सरकारले राहत कार्यक्रम घोषणा गर्नुपर्छ,” उनले भने ।

नेपाल प्रेस युनियनको २९औं स्थापना दिवस मनाउन मंगलबार जुम एपमा आयोजना गरिएको भर्चुल कार्यक्रममा देउवाले पत्रकारहरूसमेत कोरोनाबाट संक्रमति हुन थालेको बताउँदै भने, “पत्रकारलाई बचाउनुको साटो उल्टै प्रधानमन्त्री नै मिडियाको विरोधमा लागेको देखिन्छ ।” प्रधानमन्त्रीको अभिव्यक्तिहरू मिडियाको विरोधमा आउने गरेको देउवाको भनाइ थियो । देउवाले यो संकटका बेला पनि पत्रकारहरूले आफ्नो कर्तव्य निर्वाह गर्दै आएको कुरा सह्रानीय भएको भन्दै मिडियाले भूमिका खेल्नुपर्ने बताए ।

सभापति देउवाले लामो लकडाउनले सामाजिक रूपमा समस्या सिर्जना हुन थालेको र बेथितिहरूसमेत देखिन थालेको बताए । कोरोना परीक्षणको दायरा सरकराले बढाउन नसकेको बताउँदै सभापति देउवाले भने, “परीक्षणको दर बढाइनुपर्छ । सरकारले स्वास्थ्य सामग्रीको उपलब्धतासमेत बढाउनुपर्छ ।” स्वास्थ्य सामग्री खरिदलगायत विषयमा भएका अनियमितताको विषयहरूसमेत उजागर हुनुपर्ने देउवाको भनाइ थियो ।

कार्यक्रममा युनियनका केन्द्रीय सभापति बद्री सिग्देलले कोरोनाको कारण पत्रकारहरूको बेरोजगार हुने दर बढ्न थाल्नु चिन्ताको विषय भएको बताए । भने, “ठूलो मिडिया हाउसले समेत पत्रकारलाई तलब नदिने र बिदामा पठाउने गर्नाले संकट गहिरिँदो छ ।”

कार्यक्रममा युनियनका देशभरका जिल्ला सभापति, पूर्वअध्यक्ष, संस्थापक र वरिष्ठ पत्रकारसमेत एक सयभन्दा धेरै सहभागी थिए ।
फाइल तस्बिर ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button