निर्वाचन आयोगले ओली र प्रचण्डलाई पत्र पठायो

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई आइतवारको बैठकको निर्णय पठाएको छ ।

आयोगले विद्यमान ऐन र नेकपाको विधान अनुसार केपी ओली र प्रचण्ड अध्यक्ष तथा विष्णु पौडेल महासचिव रहेको पार्टीनै कायम रहेको औपचारिक जानकारी दिएको छ ।

आयोगले ११ पेज लामो निर्णय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अलग अलग पठाएको छ ।

आयोगले माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड पक्षको निर्णय र विधान संशोधन तथा केन्द्रीय समिति विस्तार गर्ने अ‍ोली पक्षको निर्णयलाई अश्वीकार गरेको छ ।

आयोगले दुवै पक्षबाट विवरण परिवर्तन, संशोधन वा हेरफेरका लागि लेखी आएका कागजपत्र कानुनसम्मत नभएको भन्दै नेकपाको कुनै विवरण परिवर्तन संशोधन वा हेरफेर हुन नसक्ने जनाएको छ ।

आयोगले दुई अध्यक्षमध्ये केपी शर्मा ओलीको नाम पहिलो नम्बरमा र पुष्पकमल दाहाल प्रचण्डको नाम दोस्रो नम्बरमा लेख्ने गरेको समेत पेश भएका कागजातबाट देखिएको जनाएको छ ।

२०७६ सालमा भएको तीनै तहको उपचुनावमा पार्टीको प्रमुख पदाधिकारीको हैसियतमा ओलीले उम्मेदवारको औपचारिक मनोनयनपत्रमा हस्ताक्षर गरेको कुरा समेत आयोगले स्मरण गराएको छ ।

ओलीनै प्रमुख पदाधिकारी भएको विवरण २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन नहुँदासम्म पार्टीमा कुनै फरक मत उत्पन्न भई सोको जानकारी आयोगमा कुनै पक्षले गराएको समेत नदेखिएको निर्णयमा उल्लेख छ ।

त्यस्तै केपी ओलीलाई अध्यक्षबाट हटाएको भनिएको बैठकको वैधानिकतामाथि पनि निर्वाचन आयोगले प्रश्न उठाएको छ ।

नेकपाको अन्तरिम विधान २०७५ को धारा १८ मा अध्यक्षको परामर्शमा केन्द्रीय कमिटी, पोलिब्यूरो, स्थायी कमिटी लगायतका बैठक बोलाउने र कार्यसूची तयार गर्ने व्यवस्था भएको र त्यस्तो बैठक बोलाउने अधिकार विधानतः अध्यक्षको परामर्शमा महासचिवलाई भएको आयोगको निर्णयमा उल्लेख छ ।

सो विधान बमोजिम बैठक बोलाएर बसेको भन्ने कुरा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आयोगमा पठाएको माइन्युटको प्रतिलिपिबाट नदेखिएको आयोगको निर्णयमा उल्लेख छ ।

ओलीलाई अध्यक्ष पदबाट हटाउँदा सो पार्टीका विधानको धारा ६१ (क) अनुसार प्रमाणित भई अनुशासनको कारवाही गरेको भन्ने कुरा नखुलेको आयोगले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button