आजदेखि देशभर कोरोनाविरुद्धको खोप लगाइँदै

काठमाडौं । सरकारले आजदेखि देशभर कोरोनाविरुद्धको खोप लगाउन शुरू गर्ने भएको छ ।

बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा खोपको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

स्वास्थ्य सेवा विभाग खोप शाखाका निर्देशक डा. झलक शर्मा गौतमका अनुसार सात प्रदेशका १२० ओटा केन्द्रमा खोप पुगिसकेको छ ।

सरकारले बुधवारदेखि नै देशभरका ३ सयओटा खोप केन्द्रबाट खोप अभियान शुरू गर्ने तयारी गरेको थियो । २८० केन्द्र तयार हुन बाँकी रहेको र कतै खोप पुग्न बाँकी रहेकाले योजनाअनुसारका केन्द्रबाट खोप अभियान शुरू गर्न नसकेको हो ।

आगामी आइतवारदेखि ३०० ओटा केन्द्रबाट खोप लगाइने खोप शाखाका निर्देशक गौतमले बताएका छन । उनका अनुसार काठमाडौंमा १२ , भक्तपुरमा दुई र ललितपुरमा तीन अस्पताल गरी उपत्यकाका १७ केन्द्रबाट खोप लगाउन शुरू गरिनेछ ।

काठमाडौं उपत्यकाबाहिर ६२ अस्पतालअन्तर्गत १०३ ओटा खोप केन्द्रबाट खोप लगाइनेछ ।

कुन प्रदेशको कहाँ–कहाँ छन् खोप केन्द्र ?

प्रदेश– १
प्रदेश १ मा १४ जिल्लामा २४ वटा खोप केन्द्र तोकिएको छ । प्रदेश- १ ले झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम, धनकुटा, तेह्रथुम, भोजपुरमा १४ गते, पाँचथर, ताप्लेजुङ्ग, खोटाङ, ओखलढुंगामा १५ गते र सोलुखुम्बु र संखुवासभामा १६ गते खोप अभियान सञ्चालन गर्ने तालिका तय गरेको छ । प्रदेश १ मा ३५ हजार जनालाई खोप लगाइनेछ ।

झापामा मेची अस्पताल, दमक अस्पताल र बिर्तामोड अस्पतालमा खोप केन्द्र तोकिएको छ। मोरङमा कोशी अस्पताल, रंगेली अस्पताल, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा खोप केन्द्र तोकिएको छ ।

सुनसरीमा इनरुवा अस्पताल, इटहरी अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खोप केन्द्र तोकिएको छ । त्यसैगरी इलाममा इलाम अस्पताल, फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र र मंगलबारे स्वास्थ्य केन्द्रमा खोप केन्द्र तोकिएको छ ।

उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर, पाँचथर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र संखुवासभामा जिल्ला अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

प्रदेश–२
प्रदेश–२ मा आज (बुधबार) नै सबै जिल्लामा कोरोना विरुद्धको खोप अभियान सञ्चालन हुने बताइएको छ । त्यसका लागि सबै जिल्लाका जिल्ला अस्पतालमा खोप केन्द्र तोकिएको छ । पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी, सिराहा, धनुषा र महोत्तरीमा जिल्ला अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

बागमती प्रदेश
बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौं उपत्यकामा १७ वटा खोप केन्द्र तोकिएको छ । जसमा काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र तय गरिएको छ ।
यसका साथै दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुरका जिल्ला अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

काठमाडौँमा त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, कीर्तिपुर आयुर्वेद रिसर्च सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, सिभिल अस्पताल, काठमाडौं मेडिकल कलेज, प्रहरी अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र नेपाल मेडिकल कलेज जोरपाटीमा खोप केन्द्र तोकिएको छ ।

त्यसैगरी, ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किस्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र तोकिएको छ । यस्तै भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पतालमा कोभिड विरुद्धको खोप लगाइनेछ ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा १४ गते नै सबै ११ जिल्लामा कोभिड खोप लगाउने तयारी गरिएको छ । पहिलो चरणमा १७ हजार ३९६ जनालाई खोप दिइनेछ । पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल र प्रदेश सरकारको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा खोप दिइनेछ ।

म्याग्दी, मनाङ, मुस्ताङ, पर्वत र बागलुङ, गोरखा, लमजङ, स्याङजा, र तनहुँ, नवलपरासी पूर्वमा पनि जिल्ला अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशका ११ जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुनेछ । ११ मध्ये ६ वटा तराइका जिल्लामा १४ गते र अन्य ५ वटा पहाडी जिल्लामा १७ गते खोप अभियान शुरु हुने बताइएको छ ।

बुधबारका लागि रुपन्देही जिल्लाको भीम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल, कपिलवस्तु अस्पताल, दाङमा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ति प्रादेशिक अस्पताल, भेरी अस्पताल बाँके र जिल्ला अस्पताल बर्दियामा खोप केन्द्र तोकिएको छ ।

पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठानका जिल्ला अस्पतालहरुमा भने १७ गते खोप अभियान सुरु हुने बताइएको छ। लुम्बिनी प्रदेशका जनस्वास्थ्य अधिकृत वरिष्ठ रोशनलाल चौधरीले कति जनालाई लगाउने भन्ने टुंगो नलागेको बताए ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशका ९ जिल्लामा पनि भाली बुधबारबाट खोप अभियान शुरु हुने बताइएको छ । स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा रविन खड्काका अनुसार कर्णाली प्रदेशमा पहिलो चरणमा करीब ११ हजार व्यक्तिलाई खोप लगाइँदैछ ।

सुर्खेतमा प्रादेशिक अस्पताल र मेहलकुना अस्पतालमा खोप केन्द्र तोकिएको छ । कर्णाली स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी सामुदायिक अस्पताल रुकुम र जिल्ला अस्पताल रुकुममा खोप केन्द्र तय गरिएको छ।

त्यसैगरी, सल्यान, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख जिल्ला अस्पतालमा पनि खोप केन्द्र निर्धारण गरिएको छ ।

सुदूरपश्चिम प्रदेश
सुदुरपश्चिम प्रदेशका नौ जिल्लाका १० वटा खोप केन्द्रमा १६ हजार ३३८ व्यक्तिलाई खोप दिइने बताइएको छ ।

कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा खोप केन्द्र तोकिएको छ भने बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कन्चनपुरका सदुरमुकाममा रहेका अस्पतालमा खोप केन्द्र तोकिएको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button