शान्तिपूर्ण नागरिक आन्दोलनमा प्रहरी हस्तक्षेप भएकोमा पत्रकार महासंघको भत्र्सना

काठमाडाैं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएकोमा नेपाल पत्रकार महासंघले भत्र्सना गरेको छ ।
सोमबार नागरिक आन्दोलन अन्तर्गत बालुवाटार मार्च पासका क्रममा प्रहरीले लाठी र पानीका फोहरा प्रहार गर्दा वरिष्ठ पत्रकार नारायण वाग्ले, मानव अधिकारकर्मी कृष्ण पहाडी लगायत एक दर्जनभन्दा बढी घाइते भएका थिए ।
महासंघका महासचिव रमेश विष्टले मंगलबार प्रेस विज्ञप्ति जारी गरी शान्तिपूर्ण आन्दोलन गरिरहेकालाई प्रहरीले बर्बर आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, शान्तिपूर्ण र स्वतन्त्र रूपमा प्रदर्शनमा उत्रिएका मानव अधिकारवादी र नागरिक अभियन्तामाथि भएको प्रहरीको यो दमन अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य हो ।
संविधानले सुनिश्चित गरेको नागरिकको हकअधिकारको रक्षा गर्न, विधिको शासन र कानुनीराजको सम्मान गर्न पनि महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।