चितवनमा सर्वाधिक पुरस्कार राशिको प्रथम मेयर कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने

डिलकुमारी नेपाल / बिमला पाख्रिन, चितवन । चितवनमा सर्वाधिक पुरस्कार राशीको योनेक्स सनराईज प्रथम मेयर कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा माघको २८ गते देखि फागुन १ गतेसम्म योनेक्स सनराईज प्रथम मेयर कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताका लागि भरतपुर महानगरपालिका र बागमति प्रदेशको राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता अहिलेसम्मको सबैभन्दा बढी पुरस्कार राशिसहित आयोजना हुन लागेको प्रतियोगिताका संयोजक सुवास श्रेष्ठले बताए । ‘पुरस्कार राशिमा मात्र १५ लाखभन्दा बढी खर्च हुनेछ भने प्रतियोगिताको कुल बजेट ६० लाख रहेको छ’ उनले भने ।
प्रतियोगिताका लागि प्राविधिक तयारीको अनुगमनका निम्ति अन्तराष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्यालको नेतृत्वमा रहेको प्राविधिक टिमले शुक्रवार भरतपुर कभर्डहलको प्राविधिक निरिक्षण समेत गर्नुभएको छ ।
प्राविधिक टिमले कभर्डहलमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता गर्नको निम्ति सबै प्राविधिक तयारी पूरा भएको बताउनुभयो । प्राविधिक निरिक्षणका लागि उदय अर्याल र राष्ट्रिय ब्याडमिनटन अम्पायर राजु देउजाको टोली भरतपुर आएका थिए ।
चितवन जिल्ला ब्याडमिन्ट संघका अध्यक्ष भरत मल्लले चितवन जिल्लामा नेपालकै सर्वाधिक राशिको ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न पाउँदा आफुलाई मात्र नभई चितवनकै खेलकुद जगतका लागि गर्वको विषय भएको बताए ।
उहाँले प्राविधिक टोलीको भ्रमणले आयोजनामा थप उर्जा प्रदान गरेको बताउनुभयो । यस्तै जिल्ला ब्याडमिन्टन संघका कोषाध्यक्ष राजेश श्रेष्ठले प्रतियोगिता आयोजनाका निम्ति आर्थिक तयारीका लागि अघि बढीरहेको जानकारी दिनुभयो ।
प्रतियोगितमा पुरुष र महिला एकल, पुरुष डबल्स्, मिक्सड डबल्स्, १९ वर्षमुनिको पुरुष तथा महिला एकल र ४५ वर्षमाथिको भेट्रान्स् विधामा प्रतिस्पर्धा हुनेछन् ।
प्रतियोगिताको पुरुष र महिला एकलको विजेताले जनही १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने अन्य विधाको विजेताको पुरस्कार राशिको विषयमा छलफल भइरहेको श्रेष्ठले बताए ।
प्रतियोगिताको प्राविधिक संयोजक उदय अर्याल हुन् भने प्रतियोगिताको ब्यवस्थापक प्रशिक्षक सुदिप योञ्जन रहनुभएको छ ।
प्रतियोगितामा ३ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहने र प्रतियोगिता अहिलेसम्मको सबैभन्दा बढी पुरस्कार राशिसहित आयोजना हुन लागेको प्रतियोगिताका संयोजक सुवास श्रेष्ठले बताउनुभयो ।
उनका अनुसार पुरस्कार राशिमा मात्र १५ लाखभन्दा बढी खर्च हुने जानकारी दिए । प्रतियोगिताको लागि अनुमानित बजेट करिब ५० लाख रहेको आयोजकले बताएको छ ।