राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रले राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन प्रेरणा देओस् भनेर इच्छा प्रकट गरेकी छिन् ।

१३ औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रूपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ विश्वास लिएको बताएकी छिन् ।

“यस अवसरमा सदाकाल स्वाधीन राष्ट्रको रूपमा रहेको हाम्रो देश नेपालको भौगोलिक अखण्डता कायम गर्न र राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पुर्याउने हाम्रा पूर्वजहरूको योगदानको स्मरण गर्दै उहाँहरूको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन हार्दिक आह्वान गर्दछु,” उनले भनेकी छिन् ।

पूर्णपाठ

गणतन्त्र दिवस, २०७७ को शुभकामना सन्देश

१३ औं गणतन्त्र दिवसको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु । हाम्रो देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि भएका संघर्षमा आफ्नो अमूल्य जीवन आहुती गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आमजनताको योगदानको उच्च प्रशंसा गर्दै गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आव्हान गर्दछु ।

अपार जनसहभागितामा सञ्चालित ऐतिहासिक जनआन्दोलनको परिणामस्वरुप स्थापित जननिर्वा्चित संविधानसभाको पहिलो वैठकले २०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै हामीले प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आएका छौं । तर कोरोनाभाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिका कारण सधैँ झैं यसवर्ष औपचारिक कार्यक्रमहरू आयोजना गर्न कठिनाइ उत्पन्न भएको छ ।

आजको यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रूपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु ।

यस अवसरमा सदाकाल स्वाधीन राष्ट्रको रूपमा रहेको हाम्रो देश नेपालको भौगोलिक अखण्डता कायम गर्न र राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पुर्याउने हाम्रा पूर्वजहरूको योगदानको स्मरण गर्दै उहाँहरूको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन हार्दिक आह्वान गर्दछु ।

निकै लामो सङ्क्रमणकालपश्चात् राजनीतिक स्थिरता र दिगो शान्ति कायम भएको वर्तमान परिवेशमा नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली र सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने अभियानमा आआफ्नो क्षेत्रबाट योगदान पुर्याउन सम्पूर्ण राजनीतिक दलहरू र आमजनतामा हार्दिक आव्हान गर्न चाहन्छु ।

नोवल कोरोनाभाइरसको संक्रमणमा परी स्वदेश तथा विदेशमा आफ्नो अमूल्य जीवन गुमाउने सबै नेपालीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दछु र संक्रमित बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

अन्तमा, आजको यस ऐतिहासिक दिवसले सबै नेपालीहरूलाई “समृद्ध नेपाल, सुखी नेपाली” को साझा राष्ट्रिय संकल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छासहित पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

मितिः २०७७ जेठ १५ गते बिहीबार ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button