आमहड्ताल गर्दै सडकमा आउनु हाम्रो बाध्यता : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु सडकमा आउनु बाध्यता भएको बताएका छन् ।
आमहड्तालको दिन आफै सडकमा आएका प्रचण्डले जनताले आमहड्ताललाई बाध्यताको रुपमा बुझिदिन आव्हान गरे ।
‘सरकारले संविधान, नियम कानुन मिचेको प्रतिवाद गरिएन भने संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका परिवर्तनका एजेण्डा धरापमा पर्छ’ कोटेश्वर पुगेका प्रचण्डले भने, ‘आमहड्ताल नगरिदिए हुनेथियो भन्ने जनचाहना छ, जनताको भावनालाई सम्मान गर्छौं । यो जनताकै लागि हो, लोकतन्त्रकै लागि हो ।’
जनताको अधिकार स्थापित गर्न विगतमा पनि जनताले साथ दिएको भन्दै उनले यो आन्दोलनमा पनि साथ दिने विश्वास व्यक्त गरे ।
सरकारले संविधान मिचेर दिउँसै रात पार्ने काम गरेको भन्दै प्रचण्डले सबै राजनीतिक दलले आन्दोलन गरिरहेको र थप सशक्त पार्ने बताए ।
आमहड्ताल अपडेट : प्रचण्ड नै निस्किए सडकमा
काठमाडौं । बन्द, आमहड्ताल जस्ता आन्दोलनका कार्यक्रमहरुमा शीर्ष नेताहरु बन्द कोठामै बस्ने विगतको चलनलाई प्रचण्डले तोडेका छन् ।
नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयम आमहड्तालको स्थिति बुझ्न सडकमा निस्किएका छन् ।
सातदोबाटो हुँदै लगनखेल पुगेका प्रचण्डसहितका नेताहरु नाराजुलुस लगाउँदै अघि बढेका छन् । साथमा सातदोबाटोका कमाण्डर देव गुरुङ पनि साथमै छन् ।
सुरक्षाकर्मीहरुका साथमा प्रचण्ड सातदोबाटो आइपुगेपछि जुलुस सुरु भएको हो । प्रचण्ड नै सडकमा देखिएपछि कार्यकर्ता थप उत्साहित देखिएका छन् ।