हत्या गरी फालिएको अवस्थामा १७ बर्षीया किशोरीको शव फेला

बैतडीमा हत्या गरेर फालिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको शव फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार घरबाट विद्यालय गएकी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा लवलेक जंगलमा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिनुभयो ।
किशोरीको शव फेला परेको जानकारी आईसकेपछि घटनास्थलमा प्रहरीको टोली खटाएको र आँफै अनुसन्धानका लागि घटनास्थलतर्फ जान लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
किशोरीको कसले किन हत्या गरेको हो भन्ने बिषयमा अहिले यकिन नभएको उहाँले बताउनुभयो । घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिमप्राप्त कुकुर समेत मगाईसकेको उहाँले बताउनुभयो ।
भट्टको बलात्कारपछि हत्या गरिएको मृतकका आफन्तले आशंका गरेका छन् । भट्टको शव विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिनुभयो ।