जन–अपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता हो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रले गुणात्मक परिवर्तनको प्रतिनिधित्व गरेको बताएका छन् ।
“संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधार होइन यद्यपि गुणात्मक परिर्वतनको प्रतिनिधित्व गरेको छ,” तेह्रौं गणतन्त्र दिवसको सन्दर्भमा शुभकामना सन्देश दिँदै उनले भनेका छन्, “यो नयाँ राजनीतिक प्रणालीले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ ।”
उनले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) को रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिने सम्पूर्णको उच्च प्रशंसा पनि गरेका छन् ।
पूर्ण पाठ
शुभकामना
तेह्रौं गणतन्त्र दिवसको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र विभिन्न जनआन्दोलनहरुमा आफ्नो प्राणको उत्सर्ग गर्नुहुने महान् सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, बेपत्ता योद्धा र घाइते योद्धाहरुको त्याग र समर्पण प्रति उच्च सम्मान प्रकट गर्दछु ।
संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधार होइन अपितु गुणात्मक परिर्वतनको प्रतिनिधित्व गरेको छ । यो नयाँ राजनीतिक प्रणालीले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकार सहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरू एकतावद्ध भई जन–अपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता हो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) को रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिनु हुने सम्पूर्णको उच्च प्रशंसा गर्दै यस ऐतिहासिक दिवसका अवसरमा सबैको सुस्वास्थ्य र प्रगतिको कामना गर्दछु ।
१५ जेठ, २०७७