प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै, मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव टेवल हुने
अविश्वासको प्रस्ताव टेबल हुने भएपछि बैठक नै बस्न नदिने रणनीतिमा सत्तापक्ष

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै छ। गत माघ ७ गते सुरु भएको प्रदेशसभा बैठक १९ दिन पछि आज बस्न लागेको हो।
प्रदेश– १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आइतबार बोलाएका छन् ।
प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव बाहेक अरु विजेनस नभएकाले प्रस्ताव टेवल हुने निश्चित छ।
मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव टेवल हुन नदिने रणनीतिमा नेकपा ओली पक्ष रहेको छ। ओलीपक्ष आजको बैठक बस्नै नदिने रणनीतिमा छ।
नेकपा औपचारिक रुपमा विभाजन नभएकाले प्रदेशसभाको बैठकको औचित्य नभएको नेकपा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए। उनले भने, ‘प्रदेशसभा बैठक चल्न मुख्यमन्त्री राईलाई निलम्वन गरेको कारवाही कार्यन्वयन हुनुपर्ने नभए नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म पर्खनु पर्छ।’
निलम्बनका परेका प्रदेशसभा सदस्यहरुको उपस्थितिमा प्रदेशसभा बैठक अघि बढ्न नदिने राजभण्डारीले बताए ।
‘मुख्यमन्त्री राईले नेकपा संसदीय दलको नेताको हैसियतमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका १६ जना प्रदेशसभा सदस्यलाई तीन महिनासम्म कुनै किसिमको संसदीय गतिविधिमा संलग्न नहुने गरी निलम्बन गर्नुभएको छ,’ उनले भने, ‘प्रदेशसभा बैठक बस्न कि त सभामुखले मुख्यमन्त्री ज्यूले गरेको कारवाही कार्यान्वयन गर्नुपर्छ कि नेकपाको औपचारिक विभाजन पर्खिनु पर्छ ।’
मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेकाले कसैलाई कुनै किसिमको कारवाही गर्न नपाइने नेकपा दाहाल–नेपालपक्षका सांसद तथा निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले बताए। उनले अविश्वासको प्रस्तावलाई प्रकृयागत रुपमा अघि बढाउनुपर्ने बताए।
कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले कुनैपनि हालतमा प्रदेशसभा बैठक रोक्न नहुने बताए। अविश्वासको प्रस्ताव संसदमा टेवल भएपछि कांग्रेसले निर्णय गर्ने उनले बताए।
मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल अघि बढाउनका लागि सहमति जुटाई संसद बैठक सञ्चालनका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकले टुङ्गो लगाउने भएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठक आज विहान ११ वजे बोलाइएको छ। बैठकमा अविश्वास प्रस्ताव टेवल गर्नेबारे छलफल हुनेछ।
प्रदेशसभा बैठक आज दिउँसो २ वजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए।