चितवनका उद्योगीहरुबीच परिचयात्मक कार्यक्रम सम्पन्न

डिलकुमारी नेपाल, रत्ननगर/ चितवन । चितवन उद्योग संघ रत्ननगर इकाई समितिको आयोजनामा रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र चितवन उद्योग संघ रत्ननगरका उद्योगीहरुबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
चितवन उद्योग संघ रत्ननगर इकाई समितिका अध्यक्ष गजेन्द्र अधिकारीको अध्यक्षता र चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका निवर्तमान अध्यक्ष एवम् बगमती प्रदेश उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडी र नेपाल अण्डा उत्पादक संघका केन्दीय अध्यक्ष शिवराम के. सी.ज्यू विशिष्ट अतिथि रहनु भएको थियो।
कार्यक्रमका सभापति अध्यक्ष अधिकारीले स्वागत मन्तव्य सहित इकाई समितिका गतिविधि बारे आफ्नो धारणा राख्दै शुरु भएको कार्यक्रममा विशिष्ट अतिथि दुवाडीले रत्ननगर नगरपालिकासग संघको विगतदेखीको सहकार्य र आगामी दिनहरुमा सहकार्यको क्षेत्र र सम्भावनाका विषयमा प्रष्ट पार्नुभएको थियो।
त्यस्तै, विशेष व्यक्तित्व रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले इकाइ समितिले औद्योगिक प्रबर्द्धन र उद्यमी क्षमता अभिबृद्धिका लागि पेश गरिएको प्रस्ताव ग्रहण गर्दै चितवन उद्योग संघ र यसका इकाई समितिहरुको गतिविधिको प्रशंसा समेत गरेका थिए भने, उद्यमशीलता विकासमा आफूले सहकार्यका लागि पूर्ण रुपमा लागिपर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि चितवन उद्योग संघका अध्यक्ष पौडेलले उद्योगीको क्षमता अभिबृद्धी रोजगारी सिर्जना, औद्योगिक सूचना केन्द्र स्थापना र औद्योगिक राहत कोष स्थापनामा संघले अभियानको रुपमा सबै स्थानीय पालिकाहरुसँग सहकार्य गर्नुपर्ने बताए।
कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष दुर्गा प्रसाद भण्डारी, कार्य समिति सदस्य पुरुषोत्तम रिजाल, इकाई समितिका उपाध्यक्ष गोबिन्द प्रसाद खनाल, इकाई समितिका सदस्यहरु, संघका इभन्ट सुपरभाइजर दुपक दुवाडी, कार्यालय सहायक कन्चन खतिवडा लगायतको उपस्थिती रहेको थियाे, भने संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवलले कार्यक्रमको सन्चालन गर्नु भएको थियो ।