आयोग पुगेर ओलीले भने- मेरो नेतृत्वको नेकपा नै आधिकारिक हो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको नेकपा नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् ।

निर्वाचनको तयारीबारे बुझ्न मंगलबार निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले विगतको आफ्नो पृष्ठभूमि बताउँदै आधिकारिकताको दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओली आफ्नो समूहका महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री लिला श्रेष्ठ, बाबुराम दाहाल, रमेश बडालसहितको दलबल लिएर मंगलबार निर्वाचन आयोग गएका थिए ।

चुनावको तयारी बुझन् गएको बताइए पनि ओलीले पार्टीको चुनाव चिह्न, नाम आफैँले पाउनुपर्ने दाबी गरेको एक नेताले बताए । उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकपटक पनि सूर्य चिह्नबाट चुनाव नलडेको, आफू सूर्य चुनाव चिह्नबाट लडेर प्रधानमन्त्री बनेकाले प्रचण्ड समूहलाई आधिकारिकता दिन नमिल्ने बताएका थिए ।

उनले २०७६ को मंसिरमा भएको उपनिर्वाचन र माघमा राष्ट्रिय सभाको निर्वाचनमा आफ्नै हस्ताक्षर पठाएको प्रसंग सुनाउँदै आफूबाहेक कोही आधिकारिक हुन नसक्ने दाबी गरेको उनले बताए ।

अध्यक्षको निर्देशनमा महासचिवले बोलाएको बैठकबाहेक अरू आधिकारिक नहुनेसमेत उनले दाबी गरेका थिए ।

‘म सूर्य चिन्हमा लड्दै आएको हो। प्रतिनिधि सभा विघटन गर्दा पनि सूर्य चिन्हमै लडेर आएको थिए। नेकपा एमालेको निर्वाचित अध्यक्ष हो। नेकपा एमाले भन्नेबित्तिकै सूर्य चिन्ह आइहाल्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,’हँसिया-हथौंडाको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सूर्यका तर्फबाट मैले पार्टी एकता गरेको हो। अरू सबै पदाधिकारी हामीले मनोनयन गरेको हो।’

पार्टी एकता भएको भए पनि एकताको प्रक्रिया नटुंगिदै अहिलेको दुःखद स्थिति देखा परेकोसमेत उनले बताएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button