ताप्लेजुङको गाउँगाउँमा राष्ट्रिय प्रसारण लाइन विस्तार

ताप्लेजुङ । नेपाल विद्युत् प्राधिकरणले ताप्लेजुङको गाउँगाउँलाई विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ । ताप्लेजुङको नौमध्ये आठ स्थानीय तहका गाउँगाउँलाई विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

मैवाखोला गाउँपालिका– १ देखि ६ वडामा विद्युत् लाइन विस्तार र जडानको काम भइरहेको विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका सूचना अधिकारी देवन मण्डलले बताए ।

सामुदायिक ग्रामीण विद्युत् सहकारीमार्फत मेरिङदेन गाउँपालिकाको सबै वडामा राष्ट्रिय प्रसारण लाइन उपभोक्तामार्फत वितरण काम भइरहेको मण्डलको भनाइ छ ।

आगामी असार मसान्तसम्ममा ताप्लेजुङको आठ गाउँपालिका केन्द्रमा विद्युतको राष्ट्रिय प्रसारण लाइन जाड्ने योजनासहित काम भइरहेको सूचना अधिकारी मण्डलले बताए ।

फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्बरक र आठराई त्रिवेणीका सबै क्षेत्र विद्युतको राष्ट्रिय प्रसारण लाइनमा समाहित भइसकेको विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका प्रमुख हेमन्त चौधरीले बताए ।

सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखु, मेरिङ्देनको केन्द्र सान्थाक्रा, मिक्वाखोलाको वडा नम्बर १ र २ को खोक्लिङ र मैवाखोलाको केन्द्र साँघुसमेत विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको उनको भनाइ छ ।

चौधरीका अनुसार सिरिजङ्घाको केन्द्र तेल्लोकमा लाइन विस्तार र जडान कार्य भइरहेको र केही क्षेत्रमा जोडान भइसकेर उपभोक्ताले प्रयोग गर्न सुरु गरेको छ ।

गाउँपालिका केन्द्रको सीमित घर परिवारले मात्र राष्ट्रिय प्रसारण लाइन जडान गरेर उपभोग गर्दै आएको सिरिजङ्घा गाउँपालिका–४ वडाध्यक्ष रुपदास भट्टराईले बताए । प्रत्येक घर परिवारको घरसम्म राष्ट्रिय प्रसारण लाइन जडान हुनुपर्ने उनले बताए ।

गाउँपालिका क्षेत्रसम्म राष्ट्रिय प्रसारण लाइन जडान भएपनि बजेट अभावका कारणले पालिकाभित्रका प्रत्येक घरधुरीसम्म राष्ट्रिय प्रसारण लाइन जडान गर्न समस्या भएको कार्यालय प्रमुख चौधरीले बताए ।

फक्ताङलुङ गाउँपालिकामा विद्युत् व्यवस्था नभएका स्थानीय तहले अहिलेसम्म नवीकरणीय ऊर्जा प्रयोग गरेर कार्यालय सञ्चालन गर्दै आएका छन् ।

फुङ्लिङ नगरपालिकादेखि आठ किलोमिटर राष्ट्रिय प्रसारण लाइन विस्तार गर्नका लागि ठेक्का सम्झौता गरिसकेको प्रमुख चौधरीको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button