रामकुमारीलाई विनाशर्त रिहा गर्न प्रचण्ड-माधव पक्षको माग

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले नेतृ रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ ।

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै नेपाल प्रहरीको अपराध महाशाखाले झाँक्रीलाई बिहीबार दिउँसो राज्यविरुद्धको कसुरमा निवासबाटै पक्राउ गरेको थियो ।

पक्राउ लगत्तै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै झाँक्रीलाई निःशर्त रिहा गर्न माग गरेका हुन् .

‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा तथा भत्सर्ना गर्दै केन्द्रीय कमिटी सदस्य कमरेड रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ।’

झाँक्रीको गिरफ्तारीले सरकार घोर अलोतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्र उदांगो पारेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले उनलाई फौजदारी अपराध संहिताको दफा (५८) अन्तर्गतको कसूर गरेको आधारमा पक्राउ गरिएको जनाएको ५ ।

फौजदारी अपराध संहिताको दफा (५८)मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने भनिएको छ । दफा (५८) को उपदफा (१) मा भनिएको छ, ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिनु हुँदैन ।’

दफा ५८ को उपदफा (२)मा त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई ७ वर्षसम्म कैद वा ७० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button