नेकपा नेता झलनाथ खनाल भारतको दिल्ली प्रस्थान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा नेता खनाल नेपाल एयरलाइन्सको शुक्रबारको उडानमार्फत दिल्ली उडेका हुन् । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार शरीर काप्ने रोगका उपचारका लागि खनाल दिल्ली गएका हुन् ।
रोगको उपचारका लागि खनाल चीन जाने तयारीमा थिए । तर, कोरोना भाइरस संक्रमणको जोखिमका कारण बाहिरी देशबाट आएका व्यक्तिले चीनमा अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम भएका कारण उनी भारत जान लागेका हुन् ।
भारत जाँदा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ भएमा क्वारेन्टाइन बस्नैपर्ने नियम छैन ।
खनालले भारतको कुन अस्पतालमा उपचार गराउन लागेका हुन् भन्ने विषय भने खुलेको छैन । खनालले यसअघि अमेरिका र चीनमा आफ्नो उपचार गराएका थिए ।