भागरथी र निर्मलाका हत्यारालाई केही समयभित्रै अदालतको कठघरामा उभ्याउछौ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी बालिका निर्मला पन्त र बैतडकी १७ बर्षीया किशोरी भागरथी भट्टका हत्यारालाई पानीमुनि गए पनि सरकारले नछाड्ने दावी गरेका छन् । उनीहरुलाई केही समयभित्रै अदालतको कठघरामा उभ्याएर सजाय दिइने उनले बताए ।
बुटबलमा आयोजित जनसभालाई सम्वोधन गर्दै ओलीले भने, ‘निर्मला र भागरथीका हत्यारालाई पानी मुनि गए पनि छोडिने छैन । दुई–चार दिन उम्किएलान् । डरले थर्कमानको जिन्दगी बिताए पनि, लुके पनि सजाय घट्नेवाला छैन । उनीहरुलाई पूराका पूरा सजाय गरेर छोड्नेछौं ।’
ओलीले अहिले शान्ति सुरक्षाको स्थिति आमरुपमा राम्रो भएको दावी गरे । ‘हिजो ईंट्टाभट्टामा जलाउनेहरुलाई मन्त्री बनाइयो, आज हामीले हत्कडी लगाएर झ्यालखानमा हालेका छौं । १२ वर्षअघिका अपराधिलाई जेलमा हालेका छौं भने अहिलेका अपराधि पनि उम्किन पाउने छैनौं’ ओलीले भने।
यस्तै, प्रधानमन्त्री ओलीले नयाँ नक्सा जारी गरेपछि आफूविरुद्ध षड्यन्त्र भएको बताए।।
‘नयाँ नक्सा जारी गरेपछि, संविधानको अनुसूचीमा त्यसलाई समावेश गरेपछि उहाँहरु (प्रचण्ड–नेपाल) आत्तिनु भयो र प्रधानमन्त्री हट्नु पर्यो, सरकार परिवर्तन गर्नुपर्यो भनेर अरुले भनेको होइन, अरुले हिम्मत गरेको थिएन। आफ्नै पार्टीबाट बिग्रह पैदा गरेको हो’, उनले भने, ‘काम गर्न नदिने, तीन वर्षदेखि संवैधानिक आयोगहरु बन्न सकेनन्, उहाँहरु हट्नुभो आयोगहरु बने। तगारो के रहेछ भन्ने कुरा तपाईंहरुले देख्नुभो।’
उनले एकताको तीन वर्ष पार्टी हलनचल भएको सरकारले राम्ररी काम गर्न नपाएको गुनासो गरे।