कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फागुन ५ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फागुन ५ गते बस्ने भएको छ ।
कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल आइतबार विज्ञप्ति जारी गर्दै बुधबार दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिएका छन् ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरू सहभागी हुनेछन् ।
यसअघि कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवासँग तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूको भेला बोलाउने तयारी गरिरहेका बेला सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक बोलाएका हुन् ।
पौडेलले केन्द्रीय समिति बैठक बोलाउन माग गरे पनि सभापति देउवाले चासो नदिएपछि फागुन ५ गते केन्द्रीय कार्यालय सानेपामै जिल्ला सभापतिको भेला बोलाइएको थियो । त्यसका लागि पौडेल पक्षले आफू पक्षधर जिल्ला सभापतिहरुलाई खबर गरेको थियो । सोही दिन पारेर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् । ५ गते केन्द्रीय समिति बैठक बोलाइए पनि पौडेल पक्षले भेला नरोक्ने जनाएको छ ।
संसद छलेर ल्याइएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश र सोही अध्यादेशबमोजिम संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्तिका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्नुपर्ने पौडेलको भनाइ थियो ।
कांग्रेस केन्द्रीय समितिबाट प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्ने निर्णय भएको भएपनि सभापति देउवा पुनःस्थापनाको पक्षमा नदेखिएको आरोप पौडेल पक्षको छ ।
पार्टीले आन्दोलन गर्ने घोषणा गरेको भएपनि देउवाले संसद विघटन सम्बन्धी मुद्दामा अदालतमा बहस जारी रहेको भन्दै त्यसलाई कुर्नुपर्ने बताउँदै आएका छन् । आन्दोलनबाट यसो गर भनेर अदालतलाई दवाव दिन नमिल्ने भन्दै देउवा पन्छने गरेका छन् ।
नेकपाको प्रचण्ड माधव पक्षले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले संसद विघटन विरुद्ध मिलेर आन्दोलन गर्नुपर्ने प्रस्ताव सार्वजनिक मञ्चबाट राखेको थियो । तर देउवाले त्यसमा इच्छा देखाएका छैनन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने संसद विघटनको विरुद्धमा कांग्रेसले शसक्त आन्दोलन गर्नुपर्ने बताउँदै आएको छ ।