प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आजदेखि एमीकस क्युरीको ‘बहस’

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई चलिरहेको छ । संवैधानिक इजलासमा जारी सुनुवाईअन्तर्गत पक्ष र विपक्षका वकिलहरुको वहस तथा रिट निवेदक पक्षको जवाफी बहस सकिएको छ । आज (मंगलबार) बाट एमिकस क्युरीका तर्फबाट बहस (राय दिने क्रम) शुरु हुँदैछ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासलाई राय दिन ५ सदस्यीय एमिकस क्युरी मागेको थियो । जस अनुसार नेपाल बार एशोसियसनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसियसनबाट २ जना अधिवक्ता एमिकस क्युरीमा छन्

बार एशोसियसनबाट अधिवक्ताहरु बद्रीवहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल छन् । यस्तै, सर्वोच्च बारबाट पूर्णमान शाक्य र गीता संग्रौला छन् ।

एमिकस क्युयरीका सबै सदस्यले राय दिएपछि संसद विघटनविरुद्ध जारी सुनुवाई फैसलाको चरणमा पुग्नेछ ।

गम्भीर संवैधानिक ब्याख्या आवश्यक पर्ने ठहर गरिएको मुद्दामा अदालतको सहयोगीका रुपमा एमीकस क्युरी माग गरिएको हो । यद्यपि एमिकस क्युरीले दिएको राय अनुसार नै फैसला हुनुपर्छ भन्ने चाहिँ हुँदैन ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्षताको संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ,अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजवहादुर केसी सदस्य छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिध सभा विघटनको घोषणा गरेकी थिइन् ।

संविधानमा उल्लेख नै नभएको ‘अधिकार’ प्रयोग गरेर बहुमतको प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन गरिएको विषय बदरभागी भएको दाबीसहित सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका १३ वटा रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाई भइरहेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button