ललितपुर महानगरद्वारा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न २० लाख सहयोग

ललितपुर / ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनले उक्त रंगशाला निर्माण गरिरहेको छ ।

महानगरले फाउन्डेसनलाई शुक्रवार आयोजित एक कार्यक्रममा २० लाख प्रदान गरेको हो ।

शुक्रवार ललितपुरमा आयोजित कार्यक्रममा महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई चेक हस्तान्तरण गरे ।

चेक हस्तान्तरण अघि महर्जन र कट्टेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

नगरप्रमुख महर्जनले सरकारले गर्नुपर्ने काम व्यक्तिले गरेकोमा धुर्मुस र सुन्तलीको प्रसंशा गरे । उनले यो रंगशालाको निर्माणले नेपाललाई अन्तराष्ट्रिय स्तरको ख्याति दिने दाबी गरे ।

फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले हाल रंगशाला मैदानको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताए ।

उनले आउँदो १४ महिनाभित्र रंगशाला निर्माणको काम पूर्ण रुपमा सम्पन्न हुने जानकारी दिए ।

काम गर्दा धेरै चुनौती बेहोर्नु परेको बताउँदै भने, ‘ऋण लिएर रंगशाला निर्माणको काम अघि बढाइरहेको छु, अवस्था सामान्य भए तोकिएकै अवधिमा काम सम्पन्न हुन्छ ।’ गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला खेलकुदको हब भएको बताउँदै यो रंगशालामा २२ वटा विधाको खेल खेल्न सकिने बताए ।

रंगशालामा ७७ वटै जिल्लाको नाममा फरक फरक कक्ष निर्माण हुने जानकारी दिदैं ललितपुर कक्ष समेत यस रंगशालामा निर्माण हुने बताए ।

रंगशाला निर्माणका लागि बागमती प्रदेशले ३ करोड , भरतपुर नगरपालिकाले ८ करोड प्रदान गरिसकेको छ । यसैगरी अन्य स्थानीय तहले पनि सहयोगको प्रतिबद्धता गरेका छन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले ललितपुर महानगरको यो सहयोग फाउन्डेसनले गरेको काममा एउटा इँटा भएको बताए ।

कार्यक्रममा ललितपुर महानगरका २९वटै वडाका वडा अध्यक्षहरु, विभागीय प्रमुखहरुको उपस्थिति थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button