प्रदेश १ को सरकार प्रदेशसभा बैठकमा सहभागी नहुने

विराटनगर । आफूविरुद्ध पेश गरिएको अविश्वासको प्रस्ताव टेबुल हुने भएपछि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आज (आइतबार) बस्ने प्रदेशसभा बैठकमा उपस्थित नहुने निणर्य गराएका छन् ।

मुख्यमन्त्री राईले आफू नेतृत्वको सरकार मन्त्रीसहित आफू पक्षीय प्रदेशसभा सदस्य (सांसदहरु)को बैठक बोलाएर आइतबारको प्रदेशसभा बैठकमा सहभागी नहुने निणर्य गराएका हुन् ।

आइतबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राई, प्रदेश सरकारका मन्त्रीहरु र नेकपाको (ओली समूह)का सांसदहरु सहभागी नहुने जनाइएको छ ।

सत्तापक्षले आज बस्ने प्रदेशसभा बैठकमा उपस्थित नहुनेबारे लिखित राय प्रदेशसभा सचिवालयमा दर्ता गराउने निणर्य समेत गरेको छ ।

१४ दिन स्थगित भएपछि आइतबार प्रदेशसभा बैठक बस्नु अगाडि बिहान मुख्यमन्त्री राई र सभामुख प्रदिप कुमार भण्डारीबीच छलफल भएको थियो ।

उक्त छलफलमा मुख्यमन्त्री राईले सूचना टाँस गरी प्रदेशसभा बैठक स्थगित गर्न सभामुख भण्डारीलाई दबाब दिएका थिए । तर, सभामुख भण्डारीले प्रदेशसभा बैठक रोक्न नसकिने अडान राखेका थिए ।

आइतबार दिउँसो २ बजे बस्ने गरी प्रदेश सभा बैठक बोलाइएको भएपनि १ घण्टा ढिलोसम्म पनि बैठक शुरु हुन सकेको छैन । यसअघि माघ २५ गतेको बैठकमा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची थियो । तर, मुख्यमन्त्री राई पक्षका सांसदहरुले अवरोध गरेपछि माघ २५ गतेको बैठक स्थगित भएको थियो ।

माघ २५ गते यता १४ दिनका लागि सभामुख भण्डारीले प्रदेशसभा बैठक स्थगित गरेका थिए ।

संघीय संसदको प्रतिनिधि सभा विघटनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको समूहमा रहेका मुख्यमन्त्री राई अल्पमतमा परेका छन् ।

राईविरुद्ध गत पुस १२ गते नेकपाको प्रचण्ड-माधव समूहका ३७ जना प्रदेशसभा सदस्य (सांसद)हरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

यसबीचमा मुख्यमन्त्री राईले अविश्वासको प्रस्ताव फिर्ता लिइदिन प्रचण्ड-माधव पक्षका नेताहरुलाई आग्रह पनि गरेका थिए । तर, प्रचण्ड-माधव समूहका नेताहरुले अविश्वासको प्रस्ताव फिर्ता नहुने अडान लिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button