‘लकडाउनमा कर बुझाऊ भन्‍नु अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवार’

काठमाडौं । मुलुकमा विद्यमान असहज परिस्थितिमा सरकारले तत्काल कर बुझाउन जारी गरेको सूचनालाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गैरजिम्मेवारपनको पराकाष्ठा भनेको छ । कांग्रेसले मंगलबार बिहान प्रेस विज्ञप्ति जारी गरेर सरकारसँग कर जारी गर्ने सूचना तत्काल सच्चाउन माग पनि गरेको छ ।

“विषम् र असहज परिस्थितिमा पनि सरकारले लकडाउनको सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ हो,” प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रेस विज्ञप्ति
विगत ७० दिन भन्दा बढी समयदेखि कोरोना भाइरस (कोभिड– १९) का कारण सरकारले मुलुकभर बन्दाबन्दी (लकडाउन) गरिरहेको अवस्था छ । यस अवधिमा सरकार जति गम्भीर एवं जिम्मेवारीपूर्वक ढंगबाट कोरोना रोगको रोकथाम, न्यूनिकरण तथा उपचारका लागि तत्पर हुनुपर्ने हो तर त्यसो नभई दिनानुदिन एक पछि अर्को जनतालाई आतङ्कित गर्ने कार्य गर्दै आइरहेको छ । सरकार जनताप्रति अनुत्तरदायी भएको कारण सरकारको कार्य क्षमतामा प्रश्न चिन्ह खडा भएको छ । सरकार दिनप्रति दिन असफल हुँदै गइरहेको छ ।

लकडाउनको कारण देशका सम्पूर्ण उद्योग, कलकारखाना, पर्यटन, यातायात क्षेत्र लगायत शैक्षिक संस्था ठप्प छन् । त्यसका अलवा अन्य व्यवसाय, बैंक, वित्तिय तथा सहकारी संस्था तथा निजी अस्पताल सञ्चालनमा ठूलो कठिनाई भइरहेको छ । सम्पूर्ण आर्थिक कारोबार बन्द रहेको छ । यस्तो विषम र असहज परिस्थितिमा पनि सरकारले लकडाउनको सयम भित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ हो । सरकारको यस कार्य प्रति नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ । कोरोना रोगको कारण बन्द भएका साना देखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकहरुका लागि सरकारले विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसको विपरित करका लागि ताकेता गर्नु भनेको वर्तमान सरकार आम नेपाली नागरिकप्रति उदासीन रहेको प्रष्ट भएको छ ।

आमनागरिकलाई पिडा माथि पिडा थप्ने कार्य अत्यन्त निन्दनीय छ । तसर्थ सरकारको यस गतल कदमलाई तत्काल सच्चाउनको लागि नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ । सुरक्षित रहन र सुरक्षाको प्रत्याभुति दिलाउनु राज्यको प्रमुख दायित्व हो । जनतालाई पिडा माथि पिडाको अनुभूति नदिन खबरदारी गर्दछ ।
जय नेपाल !
बालकृष्ण खाण
प्रमुख सचेतक

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button