प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, संसदको सामना गर्ने

काठमाडौं । प्रतिनिधि सभा भंगको निणर्य सर्वोच्च अदालतले बदर गरिदिए पछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने तत्काल राजीनामा नदिने भएका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत ओलीले राजीनामा नदिने बताएका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने पनि थापाले बताएका छन् ।
‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरु भविष्यमा देखिँदै जाने निश्चित छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भनेका छन्, ‘यसबाट राजनीतिक समस्याहरुको कुनै हल हुने अवस्था पनि छैन । बरु अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधि सभाको सामना गरेर नै फैसलाको कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।’