राष्ट्रपति भण्डारी क्षमापूजाका लागि पशुपति जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी क्षमापूजाका लागि बुधबार पशुपतिनाथ मन्दिर जाने भएकी छिन् । पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा रहेको जलहरी जिर्णोद्धार गर्ने काम चलिरहेका बेला क्षमापूजाका लागि राष्ट्रपति भण्डारी बुधबार त्यहाँ जान लागेकी लागेकी हुन् ।
विभिन्न पक्षको विरोधका बीच पनि अहिले पशुपतिनाथ मन्दिरमा जलहरी जिर्णोद्धारको काम भइरहेको छ । जलहरी राख्नुअघि पूजापाठका लागि भारतबाट ३३ जना ब्राह्मण आएका छन् । भारतबाट आएका ब्राह्मणले २ दिनयता पूजापाठ गरिरहेका जनाइएको छ ।
यस्तै भागवत आश्रम र पशुपतिकै १२१ जना पण्डितहरूले पनि पूजापाठ गरिरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य तथा जलहरी निर्माण व्यवस्थापन समितिका सदस्य राजु केसीले जानकारी दिए ।
केसी अनुसार राष्ट्रपतिले आज क्षमापूजा गरेपछि जलहरी राखिने छ । यसअघि चाँदीको जलहरी रहेकोमा पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी राख्न लागेको हो ।
करिब १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको जलहरी राख्नका लागि सरकारले ३० करोड रुपैयाँ दिने निर्णय भएको थियो ।
स्थानीय बासिन्दा, सम्पदा संरक्षण अभियान्ता र पशुपतिका भण्डारी लगायतले पशुपतिनाथको शास्त्रीय महत्त्व र प्राचीन स्मारक संरक्षण ऐनविपरीत जलहरी राख्न लागेको भन्दै विरोध जनाउँदै एका छन् आएका छन् । २०७० सालमा नै चाँदीको जलहरी हटाएर सुनको राख्ने निर्णय भए विरोध भएपछि यो कार्य पर धकेलिँदै आएको थियो ।
पशुपतिनाथको ज्योतिर्लिंगमा सुनको जलहरी राख्ने काम रोक्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा दुई वटा रिट निवेदन समेत दर्ता भएका थिए । तर, रिटमा आदेश आउनुअघि नै निर्माण कार्य सक्नेगरी काम भइरहेको छ ।