भागरथी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने असईसहितका दुई प्रहरीको बढुवा

भागरथी हत्या प्रकरणको अनुसन्धानमा खटिएका दुई जना प्रहरीको बढुवा भएको छ।

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया भागरथी भट्टको घटनाको सफल अनुसन्धान गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापालाई प्रहरी नायब निरीक्षक (सई) मा बढुवा गरिएको हो।

यस्तै, इलाका प्रहरी कार्यालय, राजापुर बर्दियामा दरबन्दी भएर हाल जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी जवान नरबहादुर थापालाई हवल्दार पदमा बढुवा गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भागरथी प्रकरणको अनुसन्धानमा सफलता प्राप्त गरेर कार्य कुशलता देखाएको भन्दै कदरस्वरुप प्रहरी नियमावलीअनुसार बढुवा गरिएको बताए।

प्रहरी सहायक निरीक्षकबाट नायब निरीक्षकमा बढुवा भएका थापा यसअघि २०६५ सालमा डोटीमा गोली हानेर शिक्षकले छात्राको हत्या गरेको घटनाको सफल अनुसन्धान गरेवापत जवानबाट हवल्दारमा बढुवा भएका थिए।

२०७३ सालमा पनि महेन्द्रनगरको संगम होटल हत्याकाण्डको अनुसन्धानमा पनि सफल भएको भन्दै हवल्दारबाट प्रहरी सहायक निरीक्षक(असई)मा बढुवा भएका थिए।

गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथीको शव बलात्कारपछि हत्या गरेको अवस्थामा भोलिपल्ट स्थानीय लबलेक सामुदायिक वनमा फेला परेको थियो।

बलात्कारपछि हत्या अभियोगमा उनका भाई नाता पर्ने दिनेश भट्टलाई पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button