सत्ता सहकार्यबारे प्रचण्ड माधव पक्षले गर्यो जसपासँग छलफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को प्रचण्ड–माधव समूहले जनता समाजवादी पार्टी(जसपा)सँग सत्ता सहकार्यका बारेमा छलफल गरेको छ ।
विहीबार पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्ड माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले जसपाका शीर्ष नेतृत्वसँग सत्ता सहयात्राका बारेमा छलफल गरेका हुन् ।
छलफलका लागि जसपाका नेता महन्थ ठाकुरसहितका नेता पेरिसडाँडा पुगेका थिए । छलफलमा वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठको पनि सहभागीता रहेको थियो ।
मंगलबार सर्वोच्च अदालतले संसद पुनः स्थापना गर्ने आदेश दिएसँगै विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
छलफलमा प्रचण्ड–माधवले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षरधर शक्ति मिलेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेका थिए । उनीहरूले सत्ता सहकार्यका विषयमा समेत छलफल गरेका थिए । प्रचण्ड–माधवको प्रस्तावमा सकारात्मक रहेका जसपा नेताहरूले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन् ।
जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि भारतमा रहेको र अध्यक्ष उपेन्द्र यादव उपत्यका बारिह रहेकाले उनीहरु फर्किएपछि छलफल गरेर निष्कर्षमा पुग्ने उनीहरुको भनाइ थियो ।
जसपा संसदको तेस्रो ठूलो दल हो उ सँग ३२ सांसद छन् । ३४ मध्ये दुई सांसद निलम्बनमा रहेका छन् ।
नेकपाको प्रचण्ड माधव पक्षले यसअघि हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेको थियो ।
प्रचण्ड माधव पक्षलाई सरकार बनाउनका लागि जसपाले दिने साथ भने पर्याप्त नहुने देखिएको छ ।
पार्टी औपचारिक रुपमा विभाजित नभइसकेका कारण कति सांसद उक्त समूहमा हुन्छन् भन्ने टुंगो लागेको छैन । यसअघि संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावमा प्रचण्ड माधव पक्षसँग ९२ सांसद रहेको दाबी गरिएको थियो । त्यसमध्ये केही ओली पक्षमा लागेका छन् भने केही कतैपनि खुलेका छैनन् ।
जसले गर्दा जनता समाजवादीको साथमात्रले पनि उक्त समूहले सरकार बनाउने अवस्था बन्न गारो पर्ने देखिएको छ । संसदमा बहुमत कायम गर्नका लागि १३८ सांसद आवश्यक हुन्छ ।