सरकारसँग वार्ता गर्न विप्लव समूहले पनि गठन गर्यो वार्ता टोली

काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले पनि सरकारसँग वार्ताका लागि वार्ता टोली गठन गरेको छ ।
विप्लव नेतृत्वको नेकपाले खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको हो ।
विश्वकर्माको नेतृत्वमा गठन गरिएको ३ सदस्यीय वार्ता टोली आजै सार्वजनिक गरिने विप्लव नेतृत्वको नेकपाका एक नेताले जानकारी दिए ।
सरकारले पनि बिहीबार गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको छ ।
वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन् ।
वार्ताद्वारा नै सबै समस्या समाधान गर्ने गरी वार्ता टोली गठन भएको मन्त्री गुरुङले जानकारी दिए ।
केही समय अगाडिदेखि नै सरकारी पक्ष र प्रतिबन्धित विप्लव समूहबीच अनौपचारिक वार्ता हुँदै आएको थियो ।
अनौपचारिक वार्ता सकारात्मक भएपछि औपचारिक वार्ताको वातावरण बनेको सरकारी स्रोतको भनाइ छ ।
प्रतिबन्धित नेकपाका महासचिव विप्लवले केही दिन अगाडि एक वक्तव्य जारी गर्दै आफूहरुमाथि लगाइएको प्रतिबन्ध हटाइए सरकारसँग वार्ता हुने बताएका थिए ।
तर, सरकारले भने वार्ताकै क्रममा सबै मागहरुको सम्बोधन हुने बताएको छ । सरकारका प्रवक्ता गुरुङले सबै कुरा वार्ताद्वारा नै टुंगिने बताए ।
‘उहाँहरुका नेता-कार्यकर्तामाथि लागेका मुद्दा, हतियारको विषय सबै कुरा टुंगो लागेको छ,’ गुरुङले भने, ‘वार्ता अगाडि नै सबै कुराको समाधान गरेर त्यसको औचित्य हुँदैन ।’