सरकारबाट विप्लव समूहसँग वार्ता गर्न टोली गठन

काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताका लागि सरकारले वार्ता टोली गठन गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग वार्ताका लागि वार्ता टोली गठन भएको जानकारी दिएका छन् ।
मन्त्री गुरुङका अनुसार विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा (बादल)को नेतृत्वमा २ सदस्यीय टोली गठन गरिएको हो ।
वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन् । वार्ताद्वारा नै सबै समस्या समाधान गर्ने गरी वार्ता टोली गठन भएको मन्त्री गुरुङले जानकारी दिए ।
केही समय अगाडिदेखि नै सरकारी पक्ष र प्रतिबन्धित विप्लव समूहबीच अनौपचारिक वार्ता हुँदै आएको थियो । अनौपचारिक वार्ता सकारात्मक भएपछि औपचारिक वार्ताको वातावरण बनेको सरकारी स्रोतको भनाइ छ ।
प्रतिबन्धित नेकपाका महासचिव विप्लवले केही दिन अगाडि एक वक्तव्य जारी गर्दै आफूहरुमाथि लगाइएको प्रतिबन्ध हटाइए सरकारसँग वार्ता हुने बताएका थिए । तर, सरकारले भने वार्ताकै क्रममा सबै मागहरुको सम्बोधन हुने बताएको छ । सरकारका प्रवक्ता गुरुङले सबै कुरा वार्ताद्वारा नै टुंगिने बताए ।
‘उहाँहरुका नेता-कार्यकर्तामाथि लागेका मुद्दा, हतियारको विषय सबै कुरा टुंगो लागेको छ,’ गुरुङले भने, ‘वार्ता अगाडि नै सबै कुराको समाधान गरेर त्यसको औचित्य हुँदैन ।’