पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
बुधवारै बस्ने केन्द्रीय कमिटी बैठकअघि एजेन्डा तय गर्न स्थायी कमिटी बैठक बसेको हो ।
बुधवारै पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठकअघि अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सिभिल अस्पतालमा आएर कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
फागुन २३ गतेदेखि शुरू हुने प्रतिनिधिसभा अधिवेशनको रणनीति तय गर्न बैठक बस्न लागेको जनाइएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा दर्ता गराइएको अविश्वासको प्रस्ताव, अन्य दलसँग गरिने सहकार्य, पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगमा विचाराधीन विषयमा समेत छलफल हुने जनाइएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वान गरेकी छन् ।