नेकपा महासचिव नेत्रविक्रम चन्द आज सार्वजनिक हुँदै, प्रधानमन्त्री ओली र चन्दले सम्बोधन गर्दै

काठमाडौं । प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द आज सार्वजनिक हुँदैछन । बुधबार र बिहीबार सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको वार्ता सफल भएपछि बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले २ वर्षअघि लगाएको प्रतिबन्ध हटाएर विभिन्न मुद्दामा थुनामा रहेका चन्द नेकपाका नेताकार्यकर्तालाई रिहा गर्ने प्रक्रिया अघि बढाएको छ ।
गृह मन्त्रालयले यसका लागि प्रहरी प्रधान कार्यालयलाई सर्कुलर गरेको उच्च स्रोतले बतायो । गृहमन्त्रीनिकट एक अधिकारीले भने, ‘चन्द नेकपाका सबै शीर्ष नेता छाड्न परिपत्र भइसकेको छ ।’
आज २ बजे चन्द सार्वजनिक हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका महासचिव नेत्रविक्रम चन्दले सहमतिको विस्तृत विवरण प्रस्तुत गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज हेलिकप्टरमा काठमाडौं आउँदैछन । उनलाई ल्याउन सरकारले हेलिकोप्टर ‘स्ट्याण्ड बाई’ रोखेको छ ।
विप्लवलाई लिन जान निजी कम्पनीको हेलिकप्टर स्ट्याण्डबाई राखेको सरकारको एक मन्त्रीले जानकारी दिए । स्रोतकाअनुसार विप्लवलाई काठमाडौं ल्याउन एक निजी कम्पनीको हेलिकोप्टर तयारी अवस्थामा राखिएको हो ।
यसअघि बिहीबार भएको वार्तामा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्ने र झूटा मुद्दा खारेज गर्नेसम्म रहेका छन् ।
सरकारले उक्त समझादारीलाई कार्यान्वयनमा लैजाँदै चन्दमाथिको प्रतिबन्ध बिहीवार साँझ नै हटाएको थियो । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गर्दै सरकारी र चन्द पक्षबीच भएको सहमतिलाई अनुमोदनसमेत गरेको हो ।
२०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले चन्द नेतृत्वको नेकपालाई आपराधिक समूहको संज्ञा दिँदै प्रतिबन्ध लगाएको थियो । सरकारले चन्द नेतृत्वको नेकपालाई आपराधिक समूह घोषणा गर्दै चन्द समूहका नेताकार्यकर्ता ‘जहाँ भेटिन्छन्, त्यहीँ पक्राउ गर्न’ निर्देशन दिएको थियो ।
फागुन २८ को निर्णयपछि धमाधम नेताकार्यकर्ता हतियारसहित पक्राउ परेपछि चन्द नेकपा कमजोर बन्दै गएको र वार्तामा आउन बाध्य भएको दाबी सुरक्षा निकायले गरेको थियो । यो २ वर्षको अवधिमा एक शिक्षक र अन्य केही सर्वसाधारणले ज्यानसमेत गुमाएका छन् ।
चन्द नेकपाका विदेश विभाग प्रमुख एवं शीर्ष तहका नेता धमेन्द्र बास्तोलासहित हेमन्तप्रकाश वली, चन्द्रबहादुर चन्द, माइला लामालगायतका नेता तथा कार्यकर्ताहरु थुनामा रहेका छन् । एनसेलको टावरमा आक्रमण–विस्फोटदेखि विकास निर्माणका आयोजनामा अवरोध गरेको र हातहतियार बोकेर राज्यविरुद्ध कसुर गरेको आरोप उनीहरूमाथि लगाइएको थियो।
अहिले सरकार र चन्द नेतृत्वको वार्ता सफल भएको प्रतिबन्ध फुकुवा भैसकेपछि निजीक्षेत्रसमेत उत्साहित बनेको छ । हिसांत्मक गतिविधिले सार्वजनिक रूपमै क्षति पुग्ने अवस्था टुंगिने विश्वास गर्दै निजीक्षेत्रबाट खुसी ब्यक्त गरिएको छ ।