सभागृहमा ओली र विप्लवको प्रतीक्षा

काठमाडौं । सरकारसँग ३ बुँदे सम्झौता गरेपछि बिद्रोही नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रबिक्रम चन्द (विप्लव) शुक्रबार काठमाडौं आइपुगेका छन् ।
संसदीय व्यवस्थाविरुद्ध ‘एकीकृत क्रान्ति’को घोषणा गरेर भूमिगत भएका विप्लव झन्डै २ वर्षपछि एउटा सार्वजनिक मञ्चमा देखिँदैछन् ।
‘सशस्त्र संघर्ष’का नाममा चन्दा आतंक र अपराधिक गतिविधि गरेको भन्दै सरकारले २ वर्ष अगाडि प्रतिबन्धको घोषणा गरेपछि विप्लव कहाँ बस्ने गरेका थिए भन्ने पनि ‘कसैलाई’ थाहा थिएन ।
शुक्रबार बिहान पूर्वी नेवलपरासीको दबेचुलीमा देखिएका विप्लव सडक मार्ग हुँदै काठमाडौं आइपुगेका छन् ।
काठमाडौं आइपुगेका विप्लव राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उपस्थित हुने जनाइएको छ ।
कार्यक्रममा ओली र विप्लव दुवैले सम्बोधन गर्नेछन् । कार्यक्रममार्फत सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमतिबारे विस्तृत विवरण पनि सार्वजनिक गरिने छ ।
प्रधानमन्त्री ओली र विप्लव सहभागी हुने कार्यक्रमका लागि राष्ट्रिय सभागृहमा मञ्च तयार भइसकेको छ ।
कार्यक्रमका लागि सत्तारुढ नेकपाको ओली समूहसँग विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु पनि सभागृह पुगेका छन् ।