कोभिड–१९ विरुद्धको खोप विश्व समुदायलाई उपलब्ध गराउँछौँः चीन

चीनका उच्च अधिकारीले कोभिड–१९ को खोप तयार भएपछि सार्वजनिक साधनका रुपमा विश्व समुदायलाई उपलब्ध गराउने बताएका छन् ।
चीनका विज्ञान तथा प्रविधि मन्त्री वाङ्ग जिगाङ्गले आइतबार बेइजिङ्गमा भएको पत्रकार सम्मेलनमा खोपको विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य बलियो बनाइनु पर्ने बताउँदै चीनले बनाइरहेको खोप तयार भएपछि विश्वका लागि उपलब्ध गराउने स्पष्ट पारेका हुन् ।
खोपको विकास गर्दा सुरक्षा, प्रभावकारिता र पहुँचमा विशेष ध्यान दिइनु पर्ने मन्त्री वाङ्गले बताए ।
चीनले अहिले पाँच प्रकारका खोपहरु बनाइरहेको छ । चीनले इनएक्टिभेटेड भ्याक्सिन, रिकम्बिनेटेड प्रोटिन भ्याक्सिन, लाइभ एटेनयूटेड इन्फ्लुएन्जा भ्याक्सिन, एडेनोभाइरस भ्याक्सिन र न्यूक्लिक एसिड–बेस्ड भ्याक्सिनमा काम भइरहेको मन्त्री वाङ्गले जानकारी दिए ।
यी पाँच खोपले चीनमा मानवीय परीक्षणका लागि स्वीकृति पाएका छन् । चीन तथा विश्वका अरु देशका वैज्ञानिकहरुले सहकार्यमा खोप बनाउने प्रयास गरिरहेका छन् । तर विशेष प्रकारका खोप बनाउने प्रक्रियामा चीनले नेतृत्व गरिरहेको आइतबार सार्वजनिक भएको ‘फाइटिङ्ग कोभिड–१९ः चाइना इन एक्सन’ नामक दस्तावेजले दाबी गरेको छ ।

मन्त्री वाङ्गले अहिलेसम्म कोभिड–१९ को खोप बनाउने प्रयासमा अन्तर्राष्ट्रिय तहमा राम्रो सहकार्य भइरहेको र यो निरन्तर रहनु पर्ने बताए।
खोप बनाउने प्रक्रिया अति गम्भीर र चुनौतिपूर्ण हुने भएकाले खोपको सुरक्षा तथा प्रभावकारितामा विशेष ध्यान दिइनु पर्ने उनले बताएका हुन् ।
तयार भएपछि चीनले विश्व समुदायलाई सुरक्षित, प्रभावकारी र उच्च गुणस्तरको खोप उपलब्ध गराउने प्रतिवद्धतामा चीन प्रतिवद्ध रहेको उनले बताएका छन् ।