आयोगद्वारा नेकपाको दर्ता खारेज, फेरि पार्टी एकता गर्ने भए १५ दिनभित्र आउन एमाले र माओवादी केन्द्रलाई आग्रह

आयोगको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको फैसलाअनुसार एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणअघिको अवस्थामा पुगेका दुई दललाई पुनः एकीकरण गर्ने भए १५ दिनभित्र निर्णयसहित उपस्थित हुन भनेको हो।
‘आयोगको फागुन २३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदातलतको फागुन २३ गतेको फैसलाले बदर भएकोले अव यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरित नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरणपछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने,’ भनी निर्वाचन आयोगले निर्णय गरेको छ।
आयोगले सन्ध्या तिवारीलाई नेकपा एमाले र गोपाल किरातीलाई माओवादी केन्द्रको नाम दिन नसकिने भएकाले नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधार सहितको विवरण आयोग समक्ष पेश गर्न भनेको छ ।
आयोगले एमाले र माओवादीलाई नयाँ दलको रूपमा पुनः एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने दलको नाम र चिन्हसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदन सहित उपस्थित हुनका लागि जानकारी गराउने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।