सिन्धुपाल्चोकमा ४ महिनादेखि बेपत्ता पुजन राईको बाइक भोटेकोशीमा भेटियो

सिन्धुपाल्चोक । ४ महिना अगाडि सिन्धुपाल्चोकमा बेपत्ता भएका भोजपुरका पुजन राईको बुलेट मोटरसाइकल र एउटा जुत्ता फेला परेको छ ।
भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका-६ घर भएका २५ वर्षीय पुजन राई गत कात्तिक २७ गते ‘रहस्यमय’ ढंगले बेपत्ता भएका थिए । सिन्धुपाल्चोक बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायक रहेका उनी कात्तिक २७ गते एक्कासी बेपत्ता भएका थिए ।
उनको को २१ प ५७९९ नम्बरको बुलेट मोटरसाइकल बुधबार बिहान बाह्रबिसे नगरपालिका-६ स्थित भोटेकोशी नदीमा भेटिएको प्रहरीले जानकारी दिएको छ । उनको एउटा जुत्ता पनि फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार माछा मार्न गएका व्यक्तिहरूले बाइक जस्तो देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।
फेला परेको बाइक पुजनकै हुने आशंकामा प्रहरीले उनको परिवारलाई खबर गरेको थियो । उनको बाइक अरनिको राजमार्गबाट अन्दाजी ३७ फिट तल भेटिएको हो ।
सिन्धुपाल्चोक प्रहरी स्रोतका अनुसार बाइक भेटाएको ठाउँमा आधाभन्दा बढी भाग पिच भासिएको छ । त्यसैले उनी सोही ठाउँमा खसेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । बाइकमा साँचो पनि भित्रै रहेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-४ मा बसोबास गर्दै आएको परिवारका अनुसार पुजन सिन्धुपाल्चोक बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायक थिए ।
पुजन त्यहाँ काम गर्न थालेको ९ महिना पुग्दैथियो। उनी अस्थायी दरबन्दीमा काम गरिरहेका थिए । पुजन सम्पर्कमा नआएपछि परिवारले उनको खोजी थालेको थियो ।
पुजनको खोजी गर्न आफन्तले बाह्रबिसे प्रहरी, सिन्धुपाल्चोक प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिइसकेका छन् ।
सोही शिलशिलामा उनीहरूले फागुन १५ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएका थिए । अहिले यस घटनाको अनुसन्धान सिआइबी र जिल्ला प्रहरी कार्यालयको टोलीले गरिरहेको छ ।