प्रचण्डलगायतका केही नेताहरु आज बुटवल जाँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाँदैछन् ।
राष्ट्रिय दलित पत्रकार संघको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न दाहाल रुपन्देही जान लागेका हुन् ।
सम्मेलनमा दाहाल सहित नेकपा (एमाले) का नेता घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कांग्रेस नेता मिन विश्वकर्मा लगायतका नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको छ ।
महाधिवेसन उद्घाटन अघि फागुन २८ गते शुक्रबार बिहान ८ बजे पुष्पलाल पार्कदेखि बाजागाजा सहितको -याली आम्रपाली कटेजमा पुगि उद्घाटन सत्रमा परिणत हुने आयोजकले जनाएको छ ।
संघका अध्यक्ष विनोद पहाडीका अनुसार महाधिवेशनमा “आमसञ्चार र समावेशिताको सवाल”, “मिडियामा महिला : दलित महिला ?” र “दलित आन्दोलन युवा र आम सञ्चार” बिषयमा छुटाछुट्टै कार्यशाला गोष्ठि हुनेछ । उक्त कार्यशालामा नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल, विष्णु निष्ठुरी, बरिष्ठ पत्रकार किशोर श्रेष्ठ, निर्मला शर्मा, रेम विश्वकर्मा, दलित युवा नेता पर्शुराम रम्तेल, गणेश विश्वकर्मा, दुर्गा सोब लगायतका वत्ताहरुले आफ्नो प्रस्तुती दिने छन् ।
महाधिवेसनमा टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार (डिवी परियार) स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार वितरण गरिने छ । साथै दलित समुदायका सञ्चारकर्मीहरुका लागि लेखनवृत्तिसमेत प्रदान गरिने र सोही दिन साँझ चर्चित कलाकारहरुद्धारा सांगीतिक कार्यक्रम प्रस्तुत गरिने बताइएको छ ।
महाधिवेशनमा देशभरबाट ३ सय भन्दा बढी दलित पत्रकारहरु बुटवल आइपुगेको दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले जानकारी दिए । सम्मेलन तीन दिनसम्म चल्नेछ ।
संघको हालसम्म ६५ जिल्ला शाखा, सात प्रदेश र काठमाडौँ उपत्यका समितिहरु क्रियाशील छन् भने झण्डै १५ सय दलित समुदायका पत्रकारहरु आवद्ध भइसकेका छन् ।