अपराह्न ३ बजे कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
अपराह्न ३ बजे सभापति देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
देउवाले पदाधिकारी बैठक लगत्तै जनता समाजवादी पार्टी(जसपा) सँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
जसपासँग सत्ता सहयात्राबारे छलफलको तयारी गरेका देउवाले त्यसअघि पार्टीमा छलफल गर्न लागेका हुन् ।
जसपासँग कस्तो मोडालिटीमा कुराकानीलाई अघि बढाउने भन्ने विषयमा देउवाले पार्टीमा छलफल गर्न लागेका हुन् ।
कांग्रेसमा तत्काल सरकारमा जान नहुने पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत छन् भने देउवा पक्षले पनि कांग्रेसकै नेतृत्वमा मात्र सरकारमा जान सकिने बताइरहेका छन् ।
जसपा यतिबेला निर्णयक देखिएको छ । एमालेको वर्तमान सरकारलाई जसपाले साथ दिए ओली नेतृत्वको सरकारको निरन्तरता हुनेछ भने कांग्रेस माओवादी र जसपाको मोर्चाबन्दी भए कसले सरकारको नेतृत्व गर्छ भन्ने टुंगो लागेको छैन ।